विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव छैन्: खनाल


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले विदेशीहरूको अपेक्षा गरेर मात्रै देशको विकास सम्भव नहुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा एंव उद्योग वाणिज्य दिवस २०८० को उद्धघाटन समारोहमा बोल्दै खनालले निजी क्षेत्रलाई अघि सारेका समस्या समाधान गर्नसके मात्रै देशको राष्ट्रिय अर्थतन्त्रले गति लिनसक्ने र विदेशीहरूसँग निर्भर हुनु नपर्ने बताएका हुन् ।

उनले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्योगिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताए ।

खनालले देशका राष्ट्रिय उद्योग धन्दाहरूलाई विकास गर्न सक्नुपर्ने बताउँदै पानीजन्य उद्योगको विकास गर्न पनि आवश्यक नीति बनाउन नसकेको आराेप लगाए ।

उनले भने, “आधारभुत कारणलाई निवारण नगरेसम्म देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न सकिँदैन । देशलाई औद्योगिकीकरणतर्फ लैजानैपर्छ । हाम्रो देशका राष्ट्रिय उद्योग धन्दाहरूलाई विकास गर्न सक्नुपर्छ । रु हामीसँग कृषि क्षेत्रसँग सम्बन्धित मात्रै पनि अनेकौँ उद्योगहरू बनाउन सकिन्छ।”

पूर्वप्रधानमन्त्री खनालले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा नेपाल सङ्कटग्रस्त बनेको समेत बताए ।