गैरबैंकिङ सम्पत्तिको गलपासो


धितो बिक्री नभएकोले बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो नाममा ल्याएको र आफ्नै नाममा भएको धितो पनि बिक्री गर्न नसक्ने अवस्था बढेको छ । बैंकहरूले सूचना जारी गरेर गैरबैंकिङ सम्पत्ति बिक्री गर्न खोजिरहेका छन् तर आफ्नो नामको पनि बेच्न नसकेको देखिएको छ । 

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरे। वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटेको छ ।

हाल २० ओटा वाणिज्य बैंकहरूमध्ये १६ बैंकको नाफा घटेको छ भने ४ ओटाको मात्र बढेको अपरिष्कृत वित्तीय विवरणले देखाउँछ । वाणिज्य बैंकहरूमध्ये एभरेष्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकको मुनाफा बढेको छ, बाँकीको घटेको छ । आर्थिक वर्ष २०७९/०८० को समान अवधिको तुलनामा बैंकहरूको नाफा नै ३ अर्ब १७ करोड ९४ लाख रुपैयाँ बराबरले घटेको देखिन्छ । 

आर्थिक वर्ष २०७९/०८० को पहिलो ६ महिनाको अवधिमा वाणिज्य बैंकहरूले ३१ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको ६ महिनामा २८ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ मात्र नाफा कमाए । बैंकहरूको नाफा घट्नु उनीहरूको कारोबारमा कमी आएको सङ्केत हो ।

एकातिर बैंकहरूको नाफा घटेको छ भने अर्कोतिर सम्भावित कर्जा नोक्सानी वापतको ‘प्रोभिजन’ बढेको छ । ऋणीहरूले साँवा–ब्याज समयमा भुक्तानी नगर्दा बैंकहरूले ‘प्रोभिजन’मा राख्नुपर्छ । बैंकहरूको सम्भावित कर्जा नोक्सानी बापत ‘प्रोभिजन’ ८५.४५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा १४ अर्ब ७९ करोड ५१ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा २७ अर्ब ४३ करोड ७० लाख रुपैयाँ पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले लिलाम धितो सकारे भने ‘प्रोभिजन’ बापत राखेको रकम फिर्ता हुन्छ । त्यसले गैरबैंकिङ सम्पत्ति बढाउँछ भने ‘प्रोभिजन’ घटाउँछ । पूर्वबैंकर परशुराम कुँवर क्षेत्री बैंक तथा वित्तीय संस्थाहरूले गैरबैंकिङ सम्पत्ति बेच्न पाए ‘प्रोभिजन’ फिर्ता हुने बताउँछन् ।

“खराब कर्जा भयो भने खराब कर्जामा १०० प्रतिशत प्रोभिजन गर्र्नु पर्छ भने खराब कर्जाको धितो गैरबैंकिङ सम्पत्ति राख्ने हो । गैरबैंकिङ सम्पत्तिमा बिक्यो भने प्रोभिजन यता सर्छ । उता कर्जा जान्छ, कर्जा भएपछि प्रोभिजन जाने कुरा भएन,” उनले भने, “कर्जाको पैसा उता गैरबैंकिङ सम्पत्तिमा आयो । त्यसले प्रोभिजन पनि यता सर्छ । त्यो बेच्न पायो भने प्रोभिजन फिर्ता हुन्छ । बैंकहरूको नाफा बढ्छ ।”

बैंकिङ प्रणालीबाट लगानी भएको कर्जालाई असल, सूक्ष्म निगरानी, कमसल, शङ्कास्पद र खराब गरेर वर्गीकरण गरिएको हुन्छ। बैंक तथा वित्तीय संस्थाहरूले सो वर्गीकरणअनुसार न्यूनतम कर्जा नोक्सानी व्यवस्थाअनुसार असल कर्जामा १.२५ प्रतिशत, सूक्ष्म निगरानीमा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शङ्कास्पदमा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत व्यवस्था गर्नुपर्छ ।

सोहीअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कर्जा नउठेको अवस्थामा कर्जा नोक्सानी व्यवस्था गरेका हुन्छन् । बैंकहरूको अहिलेको अवस्थामा साँवा ब्याज नउठ्ने, सम्भावित कर्जा नोक्सानी वापतको ‘प्रोभिजन’ बढ्दै जाने, नाफा घट्दै जाने, प्रति सेयर आम्दानी घट्दै गएको, खराब कर्जा बढ्दै गएको र गैरबैंकिङ सम्पत्ति बढ्दैै गएको छ ।

राष्ट्र बैंकका एक उच्च अधिकारी अर्को वर्ष अधिकांश वाणिज्य बैंकहरूले लाभांश वितरण गर्न नसक्ने बताउँछन् । उनले भने, “बैंकहरूको अवस्था हेर्ने हो भने अर्को वर्ष बैंकहरूले लाभांश दिन सक्दैनन् । बढीमा ६–७ ओटा बैंकले दिन सक्लान् अरूले लाभांश दिनसक्ने अवस्था छैन ।”

पछिल्लो समयमा बैंकहरूको सूचक नै कमजोर रहेको वित्तीय विवरणले देखाउँछ । बैंक तथा वित्तीय संस्थाहरूको यो अवधिमा एकातिर बैंकहरूको नाफा घटेको छ भने खराब कर्जा बढ्दै गएको छ । ऋणीहरूले समयमा ऋणको साँवा ब्याज भुक्तानी नगर्दा खराब कर्जा बढेको हो । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको अवधिमा ९ ओटा वाणिज्य बैंकको खराब कर्जा ४ प्रतिशतमाथि पुगेको छ । आठ बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि भए पनि अन्य वाणिज्य बैंकहरूको खराब कर्जा यो अनुपातभन्दा तल छ ।

प्राइम कमर्सियल बैंकको ४.०७ प्रतिशत, हिमालयन बैंकको ४.९५ प्रतिशत, नेपाल बैंकको ४.५ प्रतिशत, प्रभु बैंकको ४.९० प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.६८ प्रतिशत, कुमारी बैंकको ४.९७ प्रतिशत, सिटिजन्स बैंकको ४.०७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.७५ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.६७ प्रतिशत खराब कर्जा छ ।

यो अवधिमा बैंकहरूको उठ्नुपर्ने ब्याज पनि उठाउन सकेका छैनन् । चालु आर्थिक वर्षको ६ महिनामा १७ अर्ब ३७ करोड १२ लाख रुपैयाँ ब्याज उठाउन बाँकी छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकहरूको उठ्नुपर्ने ब्याज १० अर्ब ४० करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

बढ्दो गैरबैंकिङ सम्पत्ति

बैंकहरूले धितो लिलाम गर्न नसकिरहेको अवस्थामा बैंकहरूको गैरबैंकिङ सम्पत्ति बिक्री हुुने अवस्थामा नरहेको एक बैंकरले बताए । घरजग्गाको कारोबार पनि सुस्त रहेको अवस्थामा अहिले गैरबैंकिङ सम्पत्ति बैंकका लागि गलपासो बन्दै गएको बैंकरहरू स्वीकार गर्छन् ।

ऋणीहरूले साँवा–ब्याज भुक्तानी नगरेको कारण बैंकहरूको कर्जा बिग्रिएको  देखाउँछ । ऋणीहरूले साँवा ब्याज भुक्तानी गरेनन्, बैंक तथा वित्तीय संस्थाले धितो लिलामको लागि सूचना निकालेको तर लिलाम बिक्री नभएपछि आफ्नो नाममा स्वीकार गर्ने क्रम बढेको छ ।

धितो बिक्री नभएकोले बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो नाममा ल्याएको र आफ्नै नाममा भएको धितो पनि बिक्री गर्न नसक्ने अवस्था बढेको छ । बैंकहरूले सूचना जारी गरेर गैरबैंकिङ सम्पत्ति बिक्री गर्न खोजिरहेका छन् तर आफ्नो नामको पनि बेच्न नसकेको देखिएको छ । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी गैरबैंकिङ सम्पत्ति (एनबिए) भनेको एक प्रकारको निष्क्रिय सम्पत्ति (ननपर्पmमेन्स एसेस्ट–एनपिए) नै भएको बताउँछन् । “कुनै लगानी गरेकोमा कर्जा उठ्न पाएन भने लिलाम बढाबढ गरेर त्यो बेच्ने हो । यसरी लिलामी गरेर गएन भने त्यो बैंकले सकार्ने हो । बैंकले सकारेपछि बैंकले नै बेच्छ,” उनले भने ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति बढ्दो क्रममा छ । आर्थिक मन्दीका कारण बैंकहरूबाट ऋण लिएकाहरूले समयमा ऋण तिर्न नसक्दा र त्यसलाई लिलामी गर्दा लिने मान्छे नहुँदा पनि बैंकहरूले आफैँले त्यो सम्पत्ति सकार्ने वा आफ्नो स्वामित्वमा ल्याउने गरेका हुन् । यसको मुख्य कारण भनेको आर्थिक मन्दीसँगै घरजग्गाको कारोबार सुस्त हुनु र सहकारी सङ्कट देखिनु भएको आकलन छ ।

“यदि सहकारी समस्यामा नगएको भए ऋणीहरूले सहकारीबाट कर्जा लिएर तिर्ने अथवा घर जग्गा बिक्री गरेर पनि तिर्न सक्थे तर यी क्षेत्रमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिएको छ,” एक पूर्वबैंकर भन्छन् ।

नाम उल्लेख गर्न नचाहने अर्का बहालवाला बैंकर ठुला व्यवसायिक घरानाहरूलाई समेत किस्ता तिर्नको लागि समस्या भइरहेको अवस्था देखिएको बताउँछन् । “ठुला व्यावसायिक घरानाहरूलाई पनि अहिले किस्ता तिर्न समस्या भइरहेको छ,” उनले भने, “विवरणमा यति रकम रिजर्भ छ भनेर देखिन्छ तर पैसा नभएको अवस्था बढ्दो छ । उनीहरूले सेयर बिक्री गरेर कर्जाको किस्ता तिरिरहेका छन् ।”

बैंक तथा वित्तीय संस्थासँग आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को मंसिरमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति २८७.७७ प्रतिशतले बढेर २२ अर्ब १६ करोड ५३ लाख रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । यसमध्ये वाणिज्य बैंकहरूको १८ अर्ब ४१ करोड ९७ लाख रुपैयाँ, विकास बैंकहरूको २ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरूको १ अर्ब ३० करोड ५७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति छ । 

गैरबैंकिङ सम्पत्तिले बैंकहरूको खराब कर्जा घटेको देखाउनको लागि मद्दत गर्दछ । खराब कर्जा देखाउँदा वासलातमा निष्क्रिय कर्जा (एनपिएल) को प्रतिशत बढ्छ भने गैरबैंकिङ सम्पत्तिमा देखाए बैंक स्वस्थ्य नै जस्तो देखिन्छ । यतिबेला बैंकहरूले गैरबैंकिङ सम्पत्तिको अनुपातका कारणले एनपिएलको कम देखाएको पाइएको छ ।

पूर्वबैंकर कुँवरले नियमसङ्गत रूपमा हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूले लिलाम गरेको सम्पत्ति ठेक्का अथवा भाडामा लगाउन नपाउने बताउँछन् । “बैंकहरूले आफ्नै सम्पत्ति भाडामा लगाउन पाउँदैन । गैरबैंकिङ सम्पत्ति झन् लगाउन पाउँदैनन्,” उनले भने, “कतिपय ठाउँमा उद्योगहरूको गार्डहरू पनि राख्नुपर्ने हुन्छ । यसबाट झन् बैंकहरूलाई घाटा हुन्छ । गैरबैंकिङ सम्पत्तिले झमेला हुन्छ ।”

एन आई सी एशियाको सबैभन्दा बढी

सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति एन आई सी एशिया बैंकको बढेको देखिन्छ । एन आई सीएशिया बैंकको गैरबैंकिङ सम्पत्ति ११५९.६५ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार एन आई सी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति आर्थिक वर्ष २०७५/७६ मा २७ करोड ५९ लाख रुपैयाँ बराबर रहेकोमा आर्थिक वर्ष २०८०/८१ को मङ्सिरमा ११५९.६५ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

यो बैंकको गैरबैंकिङ सम्पत्ति अनपेक्षित रूपमा बढ्नुको कारण भने साना ऋणीहरूलाई मात्र बढी कर्जा प्रवाह गर्नु हो । यस बैंकले ठुला परियोजनाहरूमा सह–वित्तीयकरणमा नेतृत्व गरेर लगानी गरेको छैन । जसको कारणले साना ऋणीहरूलाई ऋण दिने र भोलि तिर्न नसकेमा लिलाम गरिहाल्ने प्रवृत्ति देखिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

एन आई सी एशिया बैंकले घरजग्गाको सहज कारोबार भइरहेको अवस्थामा लिलाम गरेर बिक्री गरिहाल्ने गरेको पाइएको उनले बताए ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार स्ट्याण्र्डड चार्टड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य छ । ऋणीहरू छानेर सीमित मात्रामा कर्जा प्रवाह गर्ने स्ट्याण्र्डड चार्टड बैंकको गैरबैंकिङ सम्पत्ति शून्य देखिएको हो ।

कर्जा पूर्ण रूपमा असुली नभएपछि बैंक तथा वित्तीय संस्थाहरूले धितो लिलाम गर्नु पर्दछ । स्ट्याण्र्डड चार्टडको गैरबैंकिङ सम्पत्ति नहुनुको कारण उसका ग्राहकहरूले तिरिरहेका छन् अथवा उसले लिलाम गर्नुपर्ने अवस्था नआएको हुनसक्ने पूर्वबैंकर कुँवर बताउँछन् ।

“नदेखिनुको मतलब बैंकले धितो लिलाम गर्छु भन्ने वित्तिकै ऋणीले साँवा ब्याज भुक्तानी गरेको अथवा लिलाम बिक्री भएको कारणले स्ट्याण्र्डड चार्टड बैंकको गैरबैंकिङ सम्पत्ति देखिएको छैन,” उनले भने । नेपाल एसबिआई बैंकको ६ करोड ६० लाख रुपैयाँ र एभरेष्ट बैंकको ६ करोड ४७ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

(टक्सार फागुन २०८० बाट)