अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग परिसंघको छलफल, पर्यटन उद्योगको विकासका लागि कानूनी तथा नीतिगत तहमा महत्व दिन आग्रह


काठमाडौँ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए ।

उनले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताए । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिदै उनले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने उल्लेख गरे । निर्माण सम्पन्न भएका तर संचालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि संचालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उनले बताए ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसकेको भन्दै यसको सफल संचालनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् । उनले यूरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न के कस्ता उपाय अबलम्बन गर्नुपर्ने त्यसको बारेमा सुझाव दिन आग्रह गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राज किशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताए । पर्यटन क्षेत्रको समग्र विकासका लागि समितिले उच्च महत्व दिइरहेको भन्दै नीतिगत स्थिरता हुनुपर्ने आवश्यकता रहेको औँल्याए । सभापति यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने विषयहरु जति सक्दो छिटो लिपिबद्ध गरी दिन आग्रह समेत गरे । निजी क्षेत्रको सुझावहरु पर्यटन, अर्थ मन्त्रीसम्म पुर्याउन समितिले सहयोग गर्ने बताए ।

सांसद उदय शंशेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताए । उनले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराए ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने विषयमा राजनीतिक दलहरुले भन्दा निजी क्षेत्रले आम समुदायलाई आश्वस्त पार्न सक्नुपर्ने उनले उल्लेख गरे । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सबै सहमत रहेको भएपनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग संचालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आउने गरेको उनले बताए ।

पुर्व पर्यटन मन्त्री समेत रहेका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग संचालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताए । यी दुबै विमानस्थल संचालन हुन सक्ने भन्दै विमानस्थलमा उडान भर्न पहल गर्नुपर्नेमा उनले जोड दिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निकै आवश्यक रहेको समेत बताए ।

सांसदहरु एकनाथ ढकाल, डा. धवल शंशेर राणा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले संसद्, सरकार, राजनीतिक दल, निजी क्षेत्र सबै मिलेर मुलुकको आर्थिक विकासका लागि काम गर्नुपर्नेमा जोड दिए ।

परिसंघका महानिर्देशक दिपकराज जोशीले पर्यटन उद्योगको विगत, वर्तमानको अवस्था र आगामी दिनमा चालिनुपर्ने कदमका विषयमा प्रस्तुतीकरण दिएका थिए ।