इटाली सरकारले २०२४ को वृद्धि प्रक्षेपण घटायो


काठमाडौँ । इटालीको मन्त्रिपरिषद्ले आर्थिक र वित्तीय कागजातलाई अनुमोदन गरेको छ । २०२४ को लागि आर्थिक पूर्वानुमान गत सेप्टेम्बरको १.२ प्रतिशत पूर्वानुमानबाट १ प्रतिशतमा घटाएको हो ।

डिइएफ आधिकारिक कागज हो जसले आगामी तीन वर्षको लागि इटालीको आर्थिक र वित्तीय लक्ष्यहरू निर्धारण गर्दछ । २०२५ को वृद्धि अनुमान पनि १.३ प्रतिशतबाट १.२ प्रतिशतमा घटाइएको छ । २०२६ को लागि १.२ प्रतिशतबाट १.१ प्रतिशतमा घटाइएको छ ।

सरकारको नयाँ वृद्धि प्रक्षेपण यस वर्षको सुरुमा युरोपेली संघ (इयु) द्वारा गरिएको भविष्यवाणी भन्दा उच्च रह्यो । जसले इटालीको २०२४ मा ०.७ प्रतिशत र २०२५ मा १.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो । सरकारले सन् २०२४ को लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ दशमलव ३ प्रतिशत, २०२५ मा ३ दशमलव ७ प्रतिशत र सन् २०२६ मा ३ प्रतिशत बजेट घाटा लक्ष्य निर्धारण गरेको छ । डिइएफले यस वर्ष १३७.८ प्रतिशत, २०२५ मा १३८.९ प्रतिशत र २०२६ मा १३९.८ प्रतिशत सार्वजनिक ऋणको लक्ष्य राखेको छ । न्युज एजेन्सी नेपाल