काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिए ।
उनले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने उनले बताए । उनका अनुसार विश्वका धेरै देशहरुले पूर्ण प्रतिवन्ध गरेर अघि बढेको भन्दै उहाँले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्छ ।
“ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । भेवका बारेमा हाम्रो समाज अभ्यस्त छैन । सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन,” उनले भने, “यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ । भेपले बालबालिका र युवा पुस्तामा पारेको प्रभाव त छँदैछ । विश्वका धेरै देशहरुले यसलाई रोकेर अघि बढेका छन् । भारतले पनि प्रतिवन्ध गरेको छ । नेपालले पनि प्रतिवन्ध गर्नुपर्छ । यो विषयलाई समाज, राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र सरकारको विषय बनाउनुपर्छ । सबै ठाउँको साझा विषय बनेपछि साझा प्रतिवद्धता आउँछ । सिंगो देशको प्रतिवद्धता भएन भने प्रभावकारी ढंगबाट कार्यान्वयनमा जान सक्दैनौँ ।”
प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिवद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताए ।
प्रतिक्रिया दिनुहोस्