व्यापारिक प्रयोजनका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छः सांसद भट्ट


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभामा पेश गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धि’ संकल्प प्रस्तावमाथिकाे छलफलमा भाग लिँदै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भिर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताए ।

उनले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना गरे । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउनु पर्ने उल्लेख गरे । 

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए ।