रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक छः गृहमन्त्री लामिछाने


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् ।

आईतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सवारी चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे ।

गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको उल्लेख गरे ।

सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको उनले बताए । गृहमन्त्री लामिछानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे ।

उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिए । उनले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए । 

उनले दुर्घटना न्युनिकरण राज्यको दायित्व भएको भन्दै  नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको उल्लेख गरे। सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा उनकाे जोड थियो ।