यातायात व्यवसायी राष्ट्रिय महासंघ सिण्डिकेटको पक्षमा छैनः अध्यक्ष स्वाँर


काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताका छन् ।

महासंघका अध्यक्ष स्वाँरले मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहरुले सर्वोच्च अदालतले सिण्डिकेट ब्युँताएको भन्ने भ्रम फैल्याएको दाबी गरे । उनले यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको उल्लेख गरे ।

यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तिब्रतालाई स्वागत गर्ने उनले बताए । उनले कार्यदलले दिएको सुझावको आधारमा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित अन्य प्रतिनिधिहरु गएर गृह सचिवलाई पत्र बुझाएको उनले बताए । अध्यक्ष स्वाँरले सरकारले यातायातमा भएका अन्योलतालाई चिर्दै व्यवस्थित, नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधि युक्त बनाउनु पर्नेमा जोड दिए । उनले प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुको विकल्प नभएको बताए ।  

यातायात व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेट भन्दा पनि नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो उल्लेख गरे। उनले १० खर्बको लगानी संरक्षण गर्नेमा ध्यान केन्द्रित रहेको बताए ।