सेकेण्ड ह्याण्ड सवारीसाधन मेला सुरू, ५० हजारले अवलोकन गर्ने लक्ष्य


काठमाडौँ । मंगलबारदेखि  ‘सेकेन्ड ह्यान्ड अटोमोबाइल कार्निवल तथा लिस्टिङ बजार अटो शो २०२४’ सुरू भएको छ ।

काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सरल सेलरस क्रेडिट एडभाइजरी प्राइभेट लिमिटेडको आयोजनामा भएको उक्त अटो शो वैशाख ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

मेलामा सवारी साधन, पार्टपूर्जा, वित्तीय सेवा एवम् अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको प्रदर्शनी रहेको मेलाका संयोजक चक्र खड्काले बताए । खड्का अनुसार कार्यक्रमलाई सफल रूपमा आयोजना गर्न विभिन्न अटोमोबाइल ब्राण्डहरू साथै रिकण्डीशन व्यवसायीहरू लगायतका संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गरेको जानकारी दिए ।

आजदेखि सुरू भएको प्रदर्शनीमा ठूला तथा साना गरी ३२ वटा स्टल र ब्लकहरू रहेका छन् । प्रर्दशनीमा अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहेको छ ।

यो सँगै नयाँ वर्षको अवसरमा आयोजना हुन गइरहेको यस प्रदर्शनीले अटो व्यवसायी, ग्राहक, गाडी प्रेमी तथा अटोमोबाइलसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैलाई सहभागी गराउने आयोजकले विश्वास लिइएको छ। चार दिनसम्म चल्ने उक्त मेलामा ५० हजार आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकको छ।