फरक क्षमता भएका सागरकाे सगरमाथा चढ्ने तयारी


काठमाडौँ । फरक क्षमताका सागर सुनार (विश्वकर्मा) विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा लागेका छन् । सागरकाे उमेर ३० वर्ष हाे भने उनकाे उचाई ३ फुट ७ ईञ्चमात्र रहेकाे छ । सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथामा पाइला टेक्न लागेको बताए ।

उनले अबको केही दिन हप्तामा आपूm सगरमाथा आरोहणको लागि सगरमाथा आधार शिविर तर्फ जान लागेको जानकारी दिए । सगरमाथाको आरोहण गर्नु अघि उनले लोबुछे पिकको आरोहण गर्ने जनाइएकाे छ ।

उनले सगरमाथा आरोहण कम्पनी बुकिङ ओन प्रा.लि. बाट गर्न लागेका हुन् । सागर तयारी स्वरुप अहिले आरोहणलाई आवश्यक तयारी गरिरहेका छन् । दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आँट आएको सागरले बताए ।

“हामी जस्ता होचो फरक क्षमता भएका व्यक्तिहरुलाई समाजले हेने दृष्टिकोण नराम्रो छ । उनीहरुको प्रतिनिधित्व गर्दै म सगरमाथाको चुचुरोमा पाइला टेक्न चाहान्छु । अबको कही दिन हप्तामा सगरमाथा आरोहण गर्ने विश्वास लिएको छु,” सागर बताउँछन् ।

दिदी उर्मिलाले आर्थिक रुपमा सहयोग गर्नु उनको भनाइ छ । अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियान समेत चलाइरहेका छन । सहयोग गर्नको लागी अपिल गरे।

विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर देशको झण्डा फहराउँदै विश्व रेकर्ड राख्ने उनको चाहना छ । “हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेलाँ गर्छ । हेप्छ । म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,” सागर भन्छन्, “हामी किन थिचिने ?, किन मिचिने ? म जस्ता अरु फरक क्षमता भएकाहरुका लागि मनोबल पनि बढोस्। हामी पनि के कम छौं र ?, जलवायु परिवर्तन बारे पनि सन्देश दिने योजना छ ।” विभिन्न जोखिम र चुनौतीकाबिच आफ्नो मनोबल बलियो बनाएर सगरमाथा पुग्ने अठोट लिएका उनको भनाइ छ ।

सागरले यसअघि दोलखाको रामदुङ पिक (५९२५ मिटर)को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन् ।

सगरमाथासहित ७ वटै महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

को हुन् सागर ?

सागरको जन्म कास्कीको मादी गाउँपालिका वडा न. ११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा भएको थियो । बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके । सागर २१ वर्षको उमेरमा काठमाडौं भित्रिएका थिए । त्यसपछि उनी सुन पसलमा काम गर्न थाले । नसा सम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु प¥यो । टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले ।

उनले २०८० सालमा एसईईको परिक्षा दिएका छन् ।