श्री एयरलाइन्सबाट काठमाडौँ जान लागेका यात्रु झन्डै ४ घण्टादेखि पोखरा एयरपोर्टमा अलपत्र


काठमाडौं । श्री एयरलाइन्सले समयमा उडान नगर्दा पोखराबाट काठमाडौँ आउन लागेका यात्रु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै ४ घण्टादेखि अलपत्र परेका छन् । कम्पनीले समयमा बिना कुनै जानकारी फ्लाइट सार्दा यात्रु कुर्न बाध्य भएका हुन् ।

बिहान साढे ११ बजे विमानस्थल आएका यात्रु साँढे ३ बजेसम्म गतव्यमा पुग्ने अत्तोपत्तो नभएपछि कम्पनीका कर्मचारीविरूद्द यात्रुले आक्राेश पाेखेका छन् । बिहान साँढे १० बजेको टिकट काटेर विमानस्थल आएकोमा अहिलेसम्म आफुहरू अलपत्र परेर बसिरहेको यात्रुमध्येका एक रितु शर्माले (नाम परिर्वतन) बताइन् ।

उनले टक्सारसँग भनिन्, “बिहान ११ः३० को उडान रहेको थियो तर अहिलेसम्म हामीलाई अलपत्र राखिएको छ । हामीलाई सुरूमा जहाज केही डिले भएको जानकारी आएको थियो । तर ३ बजेसम्म हामीलाई काठमाडौँ पठाउने कुनै तयारी छैन । जहाजमा केही बिरामी पनि रहेका छन् तर पनि कम्पनीले केही वास्ता गरेको छैन । हामीलाई बिहान नै बोर्डिङ पास दिएर राखेको छ ।”

श्री एयरलाइन्सले जहाजमा प्राविधिक समस्या आएको र केही समय धैर्य गर्नको लागि अनुराेध गरेकाे उनले बताइन् । एरलाइन्सले जहाज काठमाडौँबाट पोखरा हिडेको जानकारी दिएको छ ।