फास्ट ट्रयाक निर्माणमा अवरोध गर्ने नियमहरूलाई संशोधन गर्नुपर्छः मन्त्री उप्रेती


काठमाडाैँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फास्ट ट्रयाक निर्माणमा अवरोध गर्ने नियमहरूलाई संशोधन गर्नुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री उप्रेतीले पुराना नियमहरूको आधारमा काम गरेर फास्ट ट्रयाक बन्न नसक्ने बताएका हुन् ।

उनले पुराना नियमहरूलाई संशोधन गरेर अगाडी बढ्नुपर्ने बताए। उनले समयमै फास्ट ट्रयाक निर्माण सम्पन्न गर्नका लागि सरोकारवाला मन्त्रालयहरूले आवश्यकता अनुसार सुधार गर्नुपर्ने बताए । उनले फास्ट ट्रयाक निर्माणको काम आफ्नो प्राथमिकतामा रहेको बताए । उनले अबको दुई, तीन महिनामा सुरुङमार्गहरूको ब्रेक थ्रु हुने बताए ।

मन्त्री उप्रेतीले नेपाली सेनाले गरेको काम हेरेर आफूलाई नेपाली सेनाले आधुनिक नेपाल निर्माण गर्छ भन्ने कुराको उत्साह जागेको पनि बताए । उनले सेनाको जनशक्ति र उपकरणको उपलब्धताको तुलनामा सडकमा न्युन बजेट विनियोजन हुँदा सेनाले आफ्नो क्षमताको पूर्ण सदुपयोग गर्न नसकेको बताए ।

उप्रेतीले नेपाली सेनालाई आत्मनिर्भर हुन नदिन र कमजोर बनाउन सेनाले गरिरहेको कामहरूको सन्दर्भमा प्रोपोगान्डा सिर्जना गर्ने गरिएको भन्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए ।