चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला तेस्रो दिन जारी,उत्साहजनक सहभागिता


काठमाडौँ । ‘औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१’ को तेस्रो दिन चलिरहेको छ ।

मेलामा उत्साहजनक सहभागिता रहेको क्यानका केन्द्रीय रणजित पोद्दारले जानकारी दिए । मेलाको दोश्रो दिन संघीय सरकारका युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले स्वदेशी उत्पादनको बजारीकरण र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि आयोजना गरिएको प्रदर्शनी निकै फलदायी रहेको बताए ।

उनले प्रदर्शनीका क्रममा स्थानीय तथा घरेलु उद्योगहरूबाट उत्पादित वस्तु र यसको बजारको अवस्थाको बारेमा प्रदर्शनीका प्रदर्शकहरूसँग भेटेर जानकारी लिएका थिए ।

श्रेष्ठले स्वदेशी उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ र उत्पादन पछिको बजारीकरणलाई सुनिश्चिता गर्न सकिने हो भने स्वदेशी उत्पादनको प्रवर्धन गर्न सकिने जानकारी दिए ।

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्धन, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरूको प्रवर्धन सहयोग रहेको छ ।

प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।

प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा ‘चितवनको सम्बृद्धि सूचना प्रविधि’ भन्ने लक्ष्यसहित ‘छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१’ आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ ।

प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरूमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरूलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ ।

भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा वैशाख ११ गतेसम्म प्रदर्शनी चल्ने छ ।