नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेनः उर्जामन्त्री बस्नेत


काठमाडाैँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न नसकेको बताएका छन् ।

बिहीवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा काठमाडौंमा शुरु भएको चाथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले अहिले नेपालसँग करिव ३२ सय प्लस मेगावाट उत्पादन क्षमता रहेको रहेको र अबको तीन महिनाभित्र थप तीन सय मेगावाट उत्पादन हुने बताए । मन्त्री बस्नेतले आगामी १२ वर्ष भित्रमा २८ हजार ७ सय मेगावाट उत्पादनको लक्ष्यसहितको विद्युत विकासको रोडम्याप र एक्शन प्लान तयार पारेको पनि उल्लेख गरे ।

उनले वन क्षेत्र, जग्गा प्राप्तिका सवालहरु कायम रहेको भन्दै ऐन संशोधनमार्फत सम्बोधन गर्नेगरी सरकारले प्रक्रिया अघि बढाएको बताए । उनले सरकारले आगामी लगानी सम्मेलनलाई समेत दृष्टिकोण गरी केही नेपाल ऐन, संशोधनमार्फत कानूनीहरुको नीतिगत सुधारका काम अघि बढाएको जानकारी दिएका छन् ।

यसले लगानीमैत्री वातावरण निर्माण गर्ने उनकाे विश्वास छ । नेपालको आर्थिक समृद्धिको निम्ति जलश्रोत र जलविद्युतको क्षेत्र निकै महत्वपूर्ण रहेको उनले बताए ।

कार्यक्रममा बोल्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले देशमा अधिकांश क्षेत्रमा आर्थिक गतिविधि ठप्प भइरहेको अवस्थामा अर्थतन्त्रलाई गति दिने र आर्थिक वृद्धिमा सहयोग गर्ने एक मुख्य क्षेत्र उर्जा रहेको बताए ।

उनले जलविद्युत लगायतका उर्जा आयोजनाको नियमित निर्माणले उर्जा आयोजनामा सामान आपूर्ति गर्ने विभिन्न क्षेत्रका दर्जनौँ व्यवसायहरुको जीवनयापन भएको जिकिर गरे । उर्जा आयोजना निर्माणको चरणमा पाँच लाख भन्दा धेरै दक्ष, अर्धदक्ष र अदक्ष कामदारहरुले रोजगारी पाएको उनले बताए । उनले जलविद्युत आयोजना निर्माण भएका ठाउँमा आयोजनाका तर्फबाट हजारौँ किलोमिटर सडक सञ्जाल बिस्तार हुनका साथै हरेक गाउँमा खानेपानी, स्वास्थ्य, शिक्षा तथा ठूलो लगानी भएको उनले उल्लेख गरे । 

अध्यक्ष कार्कीले वन, भूमि, स्थानीय स्तरमा आउने समस्याहरुको समाधानका लागि सरकारले अझ बढी उदार हुन आवश्यक रहेको अाैंल्याएका छन् । उनले विश्वको ध्यान हरित उर्जा उत्पादन र उपयोगमा केन्द्रित रहेको भन्दै नेपालमा स्वच्छ उर्जाको रुपमा १ लाख २० हजार मेगावाट जलविद्युत उत्पान गर्ने क्षमता रहेको बताए ।