नेपाल र चीनबिच दुई सम्झौतामा हस्ताक्षर


काठमाडौँ । नेपाल र चीनबिच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहबिच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका हुन् ।

चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सो सम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको गत असोजमा भएको चीन भ्रमणका क्रममा चीनले नेपालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरू गर्न सहयोग गर्ने प्रतिवद्दता जनाए अनुरुप नै स्वास्थ्य मन्त्रालय र चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीबिच सम्झौता भएको छ ।

सम्झौताअनुसार चीनले बीपी कोईराला मेमोरियल क्यान्स अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनका लागि सहयोग गर्ने भएको छ । त्यसका लागि संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिमसम्मका लागि चीनले आर्थिक सहायता उपलब्ध गराउने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री वर्षमान पुनले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा थप सहयोग वृद्धि हुने अपेक्षा गरेको बताए । उनले नेपाल र चीनबीच गहिरो, विविधतापूर्ण र निरन्तर दिगो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमाआपसी सहयोग र मित्रतालाइ थप सुदृढ बनाउने बताए ।

सम्झौतामा हस्ताक्षरपछि चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताए ।

उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधार हुँदै गएको र गत वर्ष १० लाख पर्यटक भित्र्याउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले २०१९ को चीनका राष्ट्रपति राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र गत वर्षको प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा भएका दुई पक्षीय सम्झौतालाई कार्यान्वयनमा लैजाने बताए ।