नेपालको चियाः विश्वमै उत्कृष्ट, निर्यातको ९८ प्रतिशत हिस्सा भारतको मात्र!


काठमाडौँ । नेपालको चियालाई विश्वमा मन पराइने गरेको छ । विभिन्न समयमा हुने अन्तर्रारष्ट्रिय चिया सम्मेलन तथा प्रतियोगितामा नेपालको चियाले उत्कृष्टता हासिल गर्दै आएको छ ।

विश्वभर माग भए पनि नेपालले विश्व बजारलाई आकर्षित गर्न भने नसकेको पाइएको छ । राष्ट्रिय चिया तथा कफि विकास बोर्डले राष्ट्रिय चिया दिवसको सन्दर्भमा शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा चियाको उत्पादन स्थिरप्रायः छ भने निर्यातबाट लाभ बढाउन नसकेको देखिएको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा कुल २० हजार २३० हेक्टर जमिनमा चिया रोपण गरिएको छ भने २ करोड ६४ लाख केजी तयारी चिया उत्पादन भएको छ ।

विभागले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधीमा १ करोड ६५ लाख केजी चिया निर्यात गरेर नेपालले ३ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक मुद्रा आर्जन गरेको उल्लेख छ ।

नेपालले गरेको चियाको कुल निर्यातमध्ये ९७.८० प्रतिशत निकासी भारतमा नै भएको देखिएको छ । नेपालका लागि भारत चियाको सबैभन्दा ठूलो बजार रहेको तथ्यांकले देखाए पनि यही तथ्यांकमा हरेक वर्ष नेपाली चिया क्षेत्र त्रसित बन्ने गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “भारत सरकारले आयात सम्बन्धी नीतिमा सानो परिवर्तन मात्रै गर्दा पनि नेपालको चिया क्षेत्रमा ठूलो हलचल आउने गरेको छ ।”

केही हप्ता अघि मात्रै भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोक्दा काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ ट्रक तयारी चिया अलपत्र परेपछि चिया क्षेत्रले निकै जोडबल गर्न परेको थियो ।

बोर्डकै विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, मेची भन्सार कार्यालय, चियाका वस्तुगत संघसंस्थाहरू एवं व्यवासायीहरूको संयूक्त पहलमा तत्कालका लागि भारतिय अवरोध हटेर हाललाई ती १७ वटा ट्रक छुटेका छन् । तर विगतमा पनि भारतिय पक्षबाट यस्ता अवरोधहरू भइ नै रहेकाले भविष्यमा फेरी विभिन्न बहानामा नेपाली चियाको निकासी रोक्ने घटना नदोहोरिएला भन्न सकिन्न ।”

बोर्डका निमित्त कार्यकारी निर्देशक दिपक खनालले भारतीय बजार ठूलो बजार रहेकाले यो बजारलाई निर्यातमा निरन्तरता दिँदे विश्वका अन्य मुलुकमा पनि निर्यातको ढोका खोल्न पर्ने बताउँछन् । उनले उत्पादन वृद्धि गर्ने र सरकारको नीतिमा थोरै मात्र सुधार हुने हो भने नेपालले चियाबाटै ठूलो फड्को मार्न सक्ने बताए।

नेपाली चियाको गुणस्तर र विषादीका अवशेषहरूलाई कारण देखाउँदै भारतले चिया निर्यातलाई बेला बेलाम रोक्दा नेपाली उत्पादकमा भय कायम रहेको पाइन्छ ।

गत मार्च २४ देखि २६ सम्म संयूक्त राज्य अमेरिकाको लस भेगासमा सम्पन्न भएको वर्ड टी एक्स्पो २०२४ मा नेपालको सिद्धदेवी टि स्टेट प्रालिले वेभरेज च्यालेन्जतर्फ ग्राण्ड च्याम्पियनको रुपमा पुरस्कृत भएको थियो । यसअघि चीनमा भएको टी च्याम्पियनसीपमा नेपाली चिया उत्पादकहरूले ग्राण्ड गोल्ड मेडल जितेको थियो ।

उत्पादनको गुणस्तरियतालाई विश्व बजारले नै प्रमाणित गरिरहरेकाले भित्र राष्ट्र भारत र चियाका सरोकारवालाले यस विषयलाई गम्भीर रुपमा लिई सहजीकरण गर्नुपर्ने जोड खनालको छ ।

नेपालले चीनन, पाकिस्तान, रुस, अमेरिका, जर्मनी लगायत युरोपेली बजारमा निकासी गरिरहेको छ । तर निर्यातको मात्रा भने कम रहेको छ । यस्तोमा नेपालको चियालाई मन पराइरहेका मुलुकमा चियाको मात्र बढाउन पहलकदमी अगाडि बढाउने बेला भएको चिया क्षेत्रका सरोकारवालाको भनाइ छ।

शनिवार बोर्डको आयोजनामा काठमाडौँको किर्तिपुरमा २८ औँ राष्ट्रिय चिया दिवस मनाउँदैछ । कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण मुल नाराका साथ मनाइँदै गर्दा चिया क्षेत्रको कायापलटको लागि राष्ट्रिय बहसको आवश्यकता महसुस गरिएको छ ।