कालिका लघुवित्तको खुद नाफा ९.१२ प्रतिशतले घट्यो


काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९.१२ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ८.७६ प्रतिशतले घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १९ करोड ७६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी घटेर १८ करोड ३ लाख रुपैयाँमा खुम्चिएको छ ।

कम्पनीले २० करोड ५० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ ।कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५.६० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.९६ प्रतिशत पुगेको छ ।

कम्पनीको रिटेन्ड अर्निङमा ४३.१८ प्रतिशतले बढेर ४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार पनि १७ करोड ३५ लाखबाट बढेर १९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको निक्षेप संकलन १ अर्ब ३० करोड र कर्जा प्रवाह ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । संस्थाको वितरणयोग्य मुनाफा १ करोड ५२ लाख रुपैयाँबराबर छ ।

प्रतिसेयर आम्दानी(ईपीएस)घटेर ११.५० रुपैयाँमा सीमित बनेको छ भने प्रतिसेयर नेटवर्थ १६४.१८ रुपैयाँ रहेको छ ।