धानमा आत्मनिर्भर बन्ने प्रयत्नमा छौँः मन्त्री साह


काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी रहेको बताएकी छन् ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको प्रभाव कृषि क्षैत्रमा परेको भन्दै आगामी दिनमा जलवायुजन्य विपद्बाट बच्ने गरी अघि बढ्न जरुरी रहेको बताइन् । उनले नेपालमा अण्डा, मासु, दूध, दहीमा आत्मनिर्भर रहेको बताइन् ।

साहले धानमा पनि आत्मनिर्भर बन्ने प्रयत्नमा सरकार रहेको बताइन् । उनले उत्पादन र बजारीकरणमा समस्या नहुने गरी नीति बनाउन जरुरी रहेको बताइन् ।

मन्त्री साहले नेपालमा हावापानी सबै स्वस्थ रहेको र नेपालले प्रकृतिले दिएको उपहारको सदुपयोग गरी काम गर्न आवश्यक रहेको बताइन् । उनले देश निर्माणका लागि सबै मिलेर लाग्नुपर्ने पनि बताइन् । उनले सरकार र जनतासँग प्रत्यक्ष जोडिने कृषिजन्य कार्यक्रम ल्याउन आवश्यक रहेको बताइन् । उनले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धनको व्यवस्था दरोसँग गर्न जरुरी रहेको बताइन् ।

उनले भनिन्, “हामी नेपालमा अण्डा, मासु, दूध, दहीमा आत्मनिर्भरतिरै छौँ । धानमा पनि आत्मनिर्भर हुने कोसिसमा छौँ । दुई लाख हेक्टर अझै जग्गा बाँझो छ । त्यसलाई आत्मनिर्भर बनाउनेतिर छौँ । चैते धानलाई प्रोत्साहन गर्नेतिर छौँ । उत्पादन गरिसकेपछि बजारीकरणको समस्या छ, त्यसलाई पनि समाधान गर्नेगरी हामी अघि बढ्दै छौँ । हामीले कृषिमा आधुनिकीकरण गर्ने र व्यवसायीकरण गर्नेगरी अघि बढ्न जरुरी छ ।”

मन्त्री साहले तीन सरकारको समन्वय गरेर कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताइन् ।