काठमाडाैँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको उद्देश्य रहेको बताएकी छिन् ।
२ हजार ८१ जनालाई रोजगारी दिनेगरी निःशुल्क ‘सिपमुलक तालिम’ दिन काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सिप मेला बुधवारदेखि शुरु भएको छ । उक्त मेलाको उद्घाटन गर्दै उप्रमुख डंगोलले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने गरी सीप नहुनेलाई सीपयुक्त बनाउने योजनाका साथ मेलाको आयोजना गरिएको बताइन् ।
उनले काठमाडौं महानगरपालिकाले सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउने र सिप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिमको मुख्य लक्ष्य रहेको उल्लेख गरिन् । १ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम दिनको लागि मेलाको आयोजना गरिएको उनले बताइन् ।
महानगरपालिकाले रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि भन्ने नारा तय गरेर अभियान चलाएको उनकाे भनाइ छ । उनले पछिल्लो समय बजारमा बेरोजगारी बढ्दै गएको स्वरोजगार बनाउने महानगरको उद्य्देश्य रहेको बताइन् । उनले बजारमा दक्ष श्रम जनशक्ति नपाएको रोजगारदाताको गुनासोलाई पनि महानगरले सम्बोधन गरी श्रमिक र रोजगारदातालाई जोड्ने पुलको काम गर्ने उल्लेख गरिन् ।
निजी क्षेत्र र काठमाडौं महानगर मिलेर काम गर्ने भनाईलाई सार्थक बनाउनको लागि निजी क्षेत्रसँग हातेमालो गर्न महानगर तयार रहेको बताइन् । उनले सिपमुलुक तालिममार्फत २ हजार ८१ जनालाई स्वरोजगारको बाटो देखाउन लक्ष्य पूरा गर्न काठमाडौं महानगरको एकल प्रयासबाट सम्भव नभएको भन्दै निजी क्षेत्रको पनि साथ आवश्यक रहेको उल्लेख गरिन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर देशमा रहेको बेरोजगारको समस्या हल गर्नको लागि एक जुट भएर अघि बढ्न आवश्यक रहेको बताएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्