चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.५ प्रतिशत हुन्छः अर्थमन्त्री


काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर पुग्ने अपेक्षा रहेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। मंगलवार मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो तर अर्थमन्त्री पुनले उक्त प्रक्षेपणलाई विश्वास गरेको देखिएन ।

अर्थमन्त्री पुनले अर्थ मन्त्रालयले मुलुकमा पछिल्लो समय भएका आर्थिक गतिविधि र प्रयास हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको दाबी गरे।

विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३ र एशियाली विकास बैंकले ३.६ भनेको भए पनि त्यो भन्दा अझ राम्रो हुने संकेत रहेको भनाइ मन्त्री पुनको छ। पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखापरेको र अझै ३ महिना आर्थिक गतिविधि हुन बाँकी रहेकाले राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रक्षेपण भन्दा वृद्धि हुने जिकिर गरे।

पुनले भने, “केन्द्रिय तथ्याङ्क कार्यालयले ३.८७ प्रतिशत हुन्छ भन्यो । यो चालु आर्थिक वर्षको ९ महिनाका प्रक्षेपणहरु हुन् । अझै ३ महिना बाँकी छ । त्यो समयमा पुँजीगत खर्च बढ्छ । अहिले लगानी सम्मेलनबाट आएको उत्साह छ । केही सुधार हुँदै गएकाले केही अझ जति प्रक्षेपण भएको छ त्यो भन्दा राम्रो हुन्छ । अहिलेको सबै अर्थतन्त्रका गतिविधि र सकारात्मक प्रयासहरु हेर्दा अर्थमन्त्रालयले ४.५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने हाम्रो अनुमान हो ।”

उनले सरकारले गर्ने पुँजीगत खर्च अबको तीन महिनामा वृद्धि हुने जनाए। अर्थमन्त्री पुनले आन्तरिक र वाह्य कारणले अर्थतन्त्र शिथिलता भएपनि पछिल्लो समय शिथिलताबाट बाहिर आउन थालेको बताए।

केही सकारात्मक संकेतहरु देखापरे पनि अझै ढुक्कले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्था भने नरहेको चर्चा गर्दै उनले विश्वको आर्थिक र राजनीतिक केन्द्र, श्रम बजारको अवस्था, श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर आर्थिक नीति बनाउनुपर्नेमा जोड दिए।

आर्थिक शिथिलताकैबिचमा पनि चालु आर्थिक वर्षमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको पुनको भनाइ छ।

विभिन्न माध्यमबाट भएका प्रक्षेपणहरुलाई सरकारले आधार मानेको छ । मुलुकमा आर्थिक शिथिलताका बीचमा पनि केही क्षेत्रहरु राम्रा देखिएका छन् ।’

अर्थमन्त्री पुनले निर्माण क्षेत्र सुधार गर्न सरकार प्रयासरत रहेको बताए। नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने स्वीकार्न आफू तयार नरहेको उनको भनाइ छ।

उनले भर्खरै लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै नेपालमा वैदेशिक लगानीको समेत राम्रो वातावरण र सम्भावना रहेको बताए।

—न्युज एजेन्सी नेपाल