९ प्रतिशत व्याजदरमा एक अर्ब रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र’ बिक्री गर्दै सरकार


काठमाडौं । सरकारले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पिडीएमओ)ले यहि वैशाख २३ गतेदेखि जेठ २२ गते सम्म एक अर्ब रुपैयाँ बराबरको ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

पाँच वर्ष अवधि रहेको यस ऋणपत्रको व्याजदर ९ प्रतिशत तोकिएको छ भने ब्याज भुक्तानी हरेक ६÷६ महिनामा सम्बन्धित खरिदकर्ताको खातामा जम्मा हुने पिडीएमओले जनाएको छ ।

यो ऋणपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरीद गर्न सक्ने ।

यस बचतपत्रमा घटीमा दश हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रु. दश हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ । यस ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन दिन सकिने छ।

५ बर्षे अवधिको ऋणपत्र भएपनि खरिदकर्ताले जुन सुकै बेला पनि बेच्न सकिन्छ । यस बारेलाई धेरैलाई जानकारी नहुन सक्छ । स्टक प्रमाणपत्रको हकमा बेच्नको लागि भने बैंकमा जानु पर्ने ब्यबस्था छ । यसरी बेच्दा जुन दिनमा बेचिएको हो , त्यस दिनसम्मको ब्याज सहित पैसा फिर्ता पाइन्छ ।

नेपाल सरकारले नागरिकबाट आन्तरिक ऋण उठाउने उद्देश्यले जारी गर्ने सरकारी ऋणपत्रलाई नागरिक बचतपत्र भन्ने गरिएको छ । मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्रलाई ‘वैदेशिक रोजगार बचतपत्र’ भन्ने गरिन्छ ।

ऋणपत्र खरिद गर्ने प्रक्रिया
इच्छुक खरीदकर्ताले यो बचतपत्र खरीद गर्नका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले  DOMS प्रणाली अन्तर्गत Investor Portal मार्फत आवेदन पेश गर्न सक्ने व्यवस्था गरेकाे छ । २०८१ वैशाख २३ गतेदेखि https://investor.doms.gov.npमा राखिएको अनलाइन आवेदन प्रक्रिया अनुसार बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् भर्न सकिने व्यवस्था गरिएको छ। यो आवेदन भर्ने कार्यमा सहजीकरण गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बिक्री एजेन्टहरूको सूची कार्यालयको वेबसाईट https://www.pdmo.gov.np मा राखिएको छ । आवेदन कर्ताले सूचनाको अवधिभित्र एक पटक वा पटक पटक समेत आवेदन दिन सक्ने छन्।

आवश्यक कागजात
यस ऋणपत्रमा आवेदन दिंदा राहदानी (फोटो सहितको फ्रन्ट पेज, अध्यागमनको अराईभल वा डिपार्चरको छाप लागेको पेज) कार्यरत मुलुकको भिसा (भारत बाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको),विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद (Remittance Voucher) वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर, परिवारका अन्य सदस्यले खरीद गर्ने भए वैदेशिक रोजगारमा संलग्न सदस्यको नागरिकताको प्रतिलिपि, तथा नावालकको नाममा संरक्षक भइ खरीद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र पेश गर्नु पर्ने छ।

उल्लिखित कागजात स्क्यान गरी https://investor doms.gov.np मा अनिवार्य रुपमा Upload गर्नुपर्ने छ, सम्पूर्ण कागजातहरू Upload गर्दा PDF JPEG को Format मा हुनु पर्नेछ र प्रत्येक कागजात छ 5 Mb भन्दा कम हुनु पर्ने छ।

यो ऋणपत्र बाँडफाँट सम्बन्धी व्यवस्था सार्वजनिक ऋण व्यवस्थापन समितिको निर्णयबमोजिम हुने पिडीएमओले जनाएको छ ।