राष्ट्र बैंकको निर्देशन पालना नगरेको भन्दै ४ वाणिज्य बैंक र २ विकास बैंक परे कार्बाहीमा


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८० ८१ को तेस्रो त्रैमासमा ४ ओटा वाणिज्य बैंक र २ ओटा विकास बैंकलाई कार्बाही गरेको छ । राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको भन्दै प्राइम कर्मसियल बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंकलाई कार्बाही गरेको हो ।

प्राइम कर्मसियल बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा बैंकको २०७८ चैत्र महिनाको अपरिष्कृत वित्तीय विवरणको आधारमा तयार भएको अन्तिम समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनमा थप कर्जा नोक्सानी कायम गर्न दिइएको निर्देशन पालना नगरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ भने प्रचलित कानुन र राष्ट्र बैकबाट जारी भएका नीति, निर्देशन तथा नियमनको परिपालना भए नभएको सञ्चालक समितिले पर्याप्त अनुगमन नगरेकोले बैंकको सञ्चालक समितिलाई सचेत गराएको छ ।

कुमारी बैंकले कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानी वापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एड्युकेसी फ्रमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविकभन्दा कम गरेको तथा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि,२०७५ विपरीत ब्याज अनुदान दिएकोले राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले कुमारी बैंक लिमिटेडको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

साथै, राष्ट्र बैंकबाट जारी “बैंक÷वित्तीय संस्थाका प्रमुख कार्यकारीको तलव भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन” को व्यवस्थाभन्दा प्रतिकूल हुनेगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ता र सुविधा दिने गरी करार सम्झौता गरेको र कार्यसम्पादन नै नगरेको १३ महिना १६ दिनको पारिश्रमिक भनी रु. २ करोड ३ लाख भुक्तानी दिने निर्णय गरेकोले कुमारी बैंक लिमिटेडको सञ्चालक समितिलाई सचेत गराएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विभिन्न कैफियत गरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । बैंकको कमलादी शाखाबाट खोलिएको प्रतितपत्र बैंककै कालीमाटी शाखाले कन्फर्म गरी सो प्रतितपत्र अन्तर्गत भएको कारोवारमा विभिन्न मितिमा निवेदक कम्पनीबाट प्रोमिसरी नोट जारी गरी बेनिफिसियरीबाट बैंकले कुल ४१ करोड ३६ लाख रुपैयाँ बराबरको बिल पर्चेज गरी कर्जा सापटमा देखाएको र सो प्रतितपत्रको म्याचुरिटी डेट बारम्बार थप गरी सो कर्जालाई २०७९ चैत्र मसान्तसम्म एभरग्रिन गरी असल कर्जाकै रुपमा देखाई यस बैंकबाट जारी एकीकृत निर्देशन विपरीत कार्य गरेको राष्ट्र बैंकले जनाएको छ ।

आधार दर गणना गर्दा संस्थागत सामाजिक उत्तरदायित्व वापतको खर्चलाई समेत समावेश गरी आधार दर गणना गरेको, क्यापिटल एड्युकेुसी फ्रेमवर्क २०१५ बमोजिम पँुजीकोष गणना गर्दा कर्जाहरुको जोखिम भारित सम्पत्तिलाई कम देखाई पँुजीकोष गणना गरेकोले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई राष्ट्र बैंकले कार्बाही गरेको हो ।

लक्ष्मी सनराइज बैंक लिमिटेड (साविक लक्ष्मी बैंक लिमिटेड) को १ प्रतिशतभन्दा बढी शेयर धारण गरेका संस्थापक शेयरधनी राजेन्द्र कुमार खेतानले सोही बैंकको ऋणी पंकज झुनझुनवालालाई प्रवाह गरेको १२ करोड रुपैयाँ कर्जा मध्ये ११ करोड ४४ लाख रुपैयाँ रकम आफ्नो खातामा ट्रान्सफर गरी÷गराई उपयोग गरेको र उक्त कर्जाको ब्याजसमेत निज खेतानको खाताबाट ट्रान्सफर गरी÷गराई भुक्तानी भएकोले राजेन्द्र कुमार खेतानलाई नेपाल राष्ट्र बैंकले १० लाख रुपैयाँ जरिवाना गराएको छ ।

साथै, लक्ष्मी सनराइज बैंक (साविक लक्ष्मी बैंक लि.) बाट प्रवाह भएको कर्जा बैंकका शेयरधनीको खातामा ट्रान्सफर भएको देखिएको र बैंकले समयमा नै उक्त कर्जाको सदुपयोगिता अनुगमन गरेको नदेखिएकोले उक्त कर्जा स्वीकृतिमा संलग्न बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

लुम्बिनी विकास बैंकले वित्तीय संस्थामा ग्राहक पहिचान तथा सम्पुष्टि पर्याप्त मात्रामा हुन नसकेको र शंकास्पद कारोवार तथा गतिविधि पहिचान गर्ने प्रणाली पूर्ण रुपमा लागू हुन नसकेकोले बैंकलाईसचेत गराएको हो ।

एक्सल डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन पालन नगरेको भन्दै बैंकलाई सचेत गराएको छ ।