दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन


दैलेख । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो ।

यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । नबिल बैंकले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ ।

दुल्लू नगरपालिका प्रमुख भरत प्रसाद रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन सहयोग पुग्ने बताए ।

नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । डेपुटी सिइओ ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।