‘वित्तीय स्थायित्वको लागि घरजग्गा कारोबारमा देखिएका समस्या तत्काल समाधान गर्न आवश्यक’


काठमाडाैँ । मुलुकमा वित्तीय स्थायित्वको लागि सरकारले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले घरजग्गा व्यवसाय मुलुकको वित्तीय स्थायित्व कायम गर्नको लागि पनि सबल र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।

पछिल्लो समय घरजग्गा कारोबारमा आएको सिथिलता र विविध समस्याको कारण अर्थतन्त्रमा असर परेको दाबी सरोकारवालाहरुको थियो । घरजग्गा व्यवसायमा देखिएका समस्या बैंकिङ क्षेत्रको स्थायित्वको लागि पनि समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले बैंकहरुले ६२५ अर्ब भन्दा बढी लगानी रहेको दाबी गरे ।

उनीहरुले बैंकमा ६ खर्बको लगानी मात्रै नभएर ३५ अर्ब भन्दा बढीको घरजग्गा धितोको रुपमा बैंकहरुले लिएको बताए । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि भए व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताए ।

उनले राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउने तर्फ नीतिहरु उन्मुख गराएको उल्लेख गरे । राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै रहेकाे उनले जानकारी दिए । उनले व्यवस्थित रुपमा कारोबार गर्ने व्यावसायीक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको बताए ।

निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाई रहेको जानकारी दिएका छन्। उनले असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति,अपरदर्शी र राज्यको राजश्व गुम्ने बताए । अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको उनकाे भनाइ थियाे। औपचारिक रुपमा दर्ता भएर रियल स्टेट व्यवसाय होस् भन्ने राष्ट्र बैंकको चाहना रहेको उनले बताए । 

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल के.सी.ले घरजग्गा व्यवसायमा नेपालका बैंकहरुले करिव ६२५ अर्ब भन्दा बढी लगानी रहेको बताए । उनले बैंकहरुको कर्जाको करिव १३ प्रतिशत लगानी घरजग्गा व्यवसायमा रहेकाले बैंकहरुको प्राथमिक क्षेत्र पनि भएको जानकारी दिए ।

उनले बैंकहरुको जलविद्युतमा गरेको लगानी भन्दा दुई गुणा बढी, कृषिमा बराबरी जस्तो घरजग्गामा लगानी रहेको बताएका छन् । बैंकिङ क्षेत्रले भविष्यमा अर्थतन्त्रको पिलरको रुपमा घरजग्गा कारोबार रहेको जानकारी दिए । अध्यक्ष के.सीले घरजग्गा कारोबारलाई आम मानिस र सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

उनले विगतमा बैंकहरुको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार वृद्धि हुने गरेको भएपनि पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन नसकेको बताए । घरजग्गा कारोबारलाई अनुत्पादकको क्षेत्रका रुपमा सरकारले हेर्न नहुने बताएका छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने उनकाे भनाइ थियाे । उनले बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिएको बताए । 

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले घरजग्गा कारोबार वृद्धि हुनुमा बैंकको ठूलो भुमिका रहेको बताए । उनले घरजग्गा व्यवसायलाइ अनुत्पादक क्षेत्र ठानेर कर्जा नदिँदा अहिलेको परिणाम आएको पनि बताएका छन् । घरजग्गा कारोबार सबै क्षेत्रको लागि महत्वपूर्ण र अर्थतन्त्रको लागि मेरुदण्ड भएको बताए । 

उनले निजी क्षेत्रका उद्योगी व्यवसायीहरुको बैंकमा धितो घरजग्गा रहेको र भुक्तानी दिन नसक्दा ठूलो समस्यामा परेको जानकारी दिए।