अनियन्त्रित बसाईंसराइ, बिग्रँदो जलवायुका कारण हरित ग्याँस उत्सर्जन बढ्दो क्रममा छ । अन्तर्राष्ट्रिय समुदायमा अहिले हरित इन्धनबारे चासो बढ्दै गइरहेको छ । हवाई इन्धनको खपत कम गरी त्यसबाट उत्सर्जन हुने कार्बनलगायतका हानिकारक ग्याँसहरूलाई न्यूनीकरणका लागि प्रायः मुलुकहरूले विभिन्न नीतिहरू ल्याइरहेका छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले समेत ‘इन्भारोमेन्टल प्रोटेक्सन कन्सेप्ट’ ल्याएको छ । आइकाओको सदस्य राष्ट्र भएकाले नेपालको उड्डयन क्षेत्रमा समेत यो बहस चलिरहेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्याङ्कअनुसार, उड्डयन क्षेत्रले कार्बन उत्सर्जनमा करिब २ प्रतिशत भूमिका खेल्छ । अन्य यातायातका साधनको तुलनामा अहिले हवाई उडान दर द्रुत गतिमा बढिरहेकाले प्रदुषण उत्सर्जन वृद्धिलाई कम गर्दै जान उपयुक्त समय आएको विज्ञहरूले बताउँदै आएका छन् ।
हरित उड्डयन संस्कृति के हो ?
हरित उड्डयन भनेको वातावरणमा पर्ने नकारात्मक प्रभावलाई कम गर्न र अत्याधुनिक दिगो पर्यावरणमैत्री उडान प्रणालीका कार्यक्रमको प्रवर्धन गर्ने र कार्यान्वयन गर्ने उद्देश्यले परिभाषित गर्ने संयुक्त शब्द हो । यसमा विमानबाट उत्सर्जित विभिन्न हरितगृह ग्याँसहरू कम गर्न डिजाइन गरिएका प्रविधि, उपकरण र माध्यमहरू समावेश गर्नेतर्फ जोड दिन्छ । इन्धनको कम प्रयोग गर्ने तरिका र समग्र रूपमा उद्योगमा पर्यावरणमैत्री पक्षहरूलाई सुधार गर्नमा तथा जलवायु परिवर्तनलाई कम गर्ने र पृथ्वीलाई बचाउने विश्वव्यापी लक्ष्यसँग उड्डयन उद्योगलाई जोड्न यो अवधारणा आएको हो ।
वायुयानले वातावरणमा पार्ने प्रतिकूल प्रभावको वर्षौंसम्मको अवलोकनले यो अवधारणा बाहिर ल्याउनु निकै महत्वपूर्ण छ भन्ने देखाएको छ । कार्बनडाइअक्साइडसँगै हवाईजहाजले नाइट्रोजन अक्साइड, पानीको वाफ र एरोसोलजस्ता हानिकारक हरित गृह ग्याँस छाड्छ । यसका साथै उडानका क्रममा जहाजले छोड्ने सेतो धुवाँको रेखा (कन्ट्रेल) मा पानीको वाष्पको संक्षेपण भएको हुन्छ, जसले तापलाई वायुमण्डलबाहिर जानबाट रोक्छ । यो झण्डै हामीले ओढ्ने कम्बलजस्तै हुन्छ जसले धर्तीको तापलाई अन्तरिक्षमा जान दिँदैन र विश्व तापमान बढाउने कार्य गर्छ ।
वातावरणीय चिन्ता भए पनि यातायातलाई सजिलो र छिटो बनाएकाले हवाई उडान कटौती गर्न सम्भव देखिँदैन । यसको सट्टा ‘द इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ले गरेको ‘फ्लाई नेट जिरो प्रतिबद्धता’ सन् २०५० सम्म हासिल गर्न सफा इन्धनको प्रयोग, विमानको इन्जिन तथा संरचनाहरू सुधार र सञ्चालन प्रक्रियाहरूमा अधिकतम् सुधार गरेर अझ राम्रा नयाँ उपायहरूको खोजी आवश्यक बनेको छ ।
उड्डयन उद्योगले पनि दिगो हुने गरेर विमान डिजाइन, निर्माण र सञ्चालनमा ध्यान दिएर लक्ष्यप्राप्तिका लागि केन्द्रित भएका छन् । टर्बोप्रप एयरक्राफ्टहरू र कम इन्धन खपत गर्ने इन्जिनहरूको प्रयोग, नयाँ पुस्ताको उड्डयन क्षेत्रका विविध आयामका साथै कार्बन काउन्टर ब्यालेन्सिङका व्यवस्थित प्रयासहरूमार्फत हरित उड्डयन क्षेत्रतर्फ अगाडि बढ्न मार्ग प्रशस्त हुन थालेको छ ।
हरित उड्डयन रणनीति र नवीन प्रविधिहरूको निरन्तर विकासमार्फत हवाई क्षेत्रको नकारात्मक वातावरणीय प्रभावलाई कम गर्न सकिनेमा विज्ञहरू विश्वस्त छन् । यसका लागि उन्नत टर्बोप्रप इन्जिनका साथै ‘दिगो उड्डयन इन्धन’ प्रयोग गरेर इन्धन दक्षता बढाउने प्रयास हुन आवश्यक छ ।
नेपालमा प्रयास
हरित उड्डयन विश्व भरका एयरलाइन्सहरूको साझा लक्ष्य बनिसकेको छ, जसले वातावरणमा सजग उडान संस्कृतिलाई प्रवर्धन गर्दछ । यी कार्यहरू गर्न धेरै चुनौतीहरू छन् र उड्डयन प्रविधिहरू सुधार गर्न लामो समय लाग्न सक्छ । उड्डयनमा प्राप्त उपलब्धी र बढ्दो लगानीले हवाई क्षेत्रलाई थप वातावरणमैत्री बनाउन भविष्यमा योगदान पुर्याउने अपेक्षा छ । धेरैभन्दा धेरै एयरलाइन्सहरू अधिक र अधिक पर्यावरण दिगो बन्न पाइला चाल्दै जाँदा यो अवधारणा नेपालका केही प्रमुख एयरलाइन्सहरूमा पनि सुरु भएको छ ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले आफूहरूले कार्बन उत्सर्जन घटाउन काम गरिरहेको बताए । “सुरुमा बुद्ध एयरले सानो जहाज (बिचक्राफ्ट ९०० सी र डी) बाट उडान सञ्चालन गरेको थियो, जसमा थोरै सिट हुन्थ्यो । थोरै सिट हुँदा सञ्चालन खर्च पनि महँगो पर्दथ्यो भने कार्बन उत्सर्जन पनि बढी हुन्थ्यो,” कर्णले भने, “सन् २००८ देखि नयाँ पुस्ताका जहाजहरू (एटिआर) सञ्चालनमा ल्याइरहेका छौँ । त्यसपछि धेरै सिट सङ्ख्यामा यात्रुलाई उडाउँदा सञ्चालन खर्च पनि कम भयो भने कार्बन उत्सर्जन पनि कम भयो । यी जहाजहरू पर्यावरणमैत्री विशेषताका जहाज हुन्।”
एटिआर ७२ र एटिआर ४२ विमान पर्यावरणीय रूपमा दिगो विमानको रूपमा डिजाइन गरिएको मानिन्छ । वातावरणविद् भुषण तुलाधर भने नेपालमा हवाइ उडान धेरै नहुने हुँदा धेरै बहसको विषय नभएको बताए । धेरै उडान हुने मुलुकले यसबारे सोच्नुपर्ने उनको भनाइ थियो । उनले भने, “नेपालमा धेरै उडान हुने होइन । उडानका क्रममा कार्बनडाइअक्साइड लगायतका ग्याँस निस्कन्छ, जसले जलवायु परिवर्तनमा समेत भूमिका खेल्छ । यसका लागि धेरै उडान हुने मुलुकहरूले सोच्न आवश्यक छ ।”
यति एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले यसबारे बहस भए पनि व्यवस्थित काम हुन बाँकी रहेको बताए । उनले यति एयरलाइन्सले पनि वातावरणलाई ध्यान दिइरहेको जानकारी दिए । बर्तौताले भने, “यति एयरलायन्ससँग सन् २०१४/१५ देखि नै युएनडिपीसँग सहकार्य गरेर वातावरणमैत्री काम गरिरहेका छौँ । सन् २०१८ सम्म कार्बन न्यूट्रल एयरलाइन्सको मान्यता पाएका थियौँ । सन् २०२२ सम्म पनि त्यो मान्यता हामीले पायौँ । अहिले एटिआर जहाज ल्याएर उडान गर्दा कार्बन उत्सर्जन कम हुन्छ नै।”
आर्थिक वर्ष २०२२/२३ मा विश्वका एयरलाइन्सहरूले आफ्नो कार्बनडाइअक्साइड उत्सर्जनलाई ०.२२९९ किलोग्राम प्रतियात्री प्रतिमाइलमा घटाउन सफल भएको तथ्याङ्क छ । उनीहरूले विभिन्न प्रक्रियाहरूमा सुधार गरेर इन्धन खपत र कार्बन उत्सर्जन ८ प्रतिशत देखि १८ प्रतिशतसम्म घटाउन प्रयास गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले वातावरणका लागि हवाई इन्धन खपत कम गर्नुपर्ने बताए । उनले भने, “हवाई इन्धन प्रयोग गर्दा कार्बनहरू निस्कन्छ, त्यसलाई कम गर्नुपर्छ । यसका लागि त्यस किसिमको इन्जिन भएको जहाज ल्याउनुपर्छ भनेर आइकाओले वातावरण सुरक्षा अवधारणा ल्याएको छ ।”
आइकाओले कार्बन कसरी कम गर्ने भन्ने मापदण्ड बनाएको छ । मापदण्ड नेपालमा पनि लागु गरिएको सूचना अधिकारी भुलले जानकारी दिए । उनले भने,“सो मापदण्डअनुसारको जहाज नभएमा उडान गर्न नदिने जस्ता कामहरू नागरिक उड्डयन प्राधिकरणले समेत गर्दै आएको छ । विमानस्थलमा प्रयोग गरिने सामानहरू समेत आइकाओको वातावरणीय अवधारणा बमोजिमका प्रावधानहरू लागु गर्दै आएको छ ।”
प्राविधिक, संस्थागत र नियामकीय हिसाबले विस्तारै प्रगति देखिरहँदा उड्डयन उद्योग आगामी दशकहरूमा यसको दिगो लक्ष्यहरू प्राप्त गर्न सक्छन् । मानव जीवनलाई सजिलो बनाउन हवाई यात्राको अत्याधुनिक प्रविधिलाई अँगालेपछि एयरलाइन्सको वातावरणीय प्रभावबारे पनि सचेत हुन जरुरी छ । यसले उड्डयन उद्योगको लागि हरियाली भविष्यको विकास गर्दै, दिगो उड्डयन अभ्यासहरूमा थप सूचित र जिम्मेवार दृष्टिकोणमा योगदान गर्नुपर्ने सबैको जिम्मेवारी बनेको छ ।
(टक्सार म्यागजिन फागुन २०८० बाट)
प्रतिक्रिया दिनुहोस्