मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरीः मन्त्री साह


काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले मुलुकमा स्पष्ट लेखा परीक्षण हुन जरुरी रहेको बताएकी छिन् ।

बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रममा उनले आफ्नो देशभित्रका आर्थिक क्रियाकलापसँगै अन्तरदेशीय आर्थिक सम्बन्ध समेत राख्दै आएको नेपाल जस्तो मुलुकमा स्पष्ट लेखा परीक्षण हुन अत्यन्त जरुरी रहेको बताइन् ।

उनले देशको सरकारी तथा निजी क्षेत्रमा सुरक्षित अर्थनीतिमा आधारित भएर ढुक्कसँग काम गर्न वातावरण बनाउन चनाखो रहेर हिसाव मिलाउनुहुने लेखा परीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार भएको पनि उल्लेख गरिन् । लेखा परीक्षकहरुको पहरेदारी र खबरदारीले नै मुलुकमा हुने हरेक आर्थिक क्रियाकलाप सुरक्षित रहँदै आएको जिकिर गरेकी छिन् । 

मन्त्री ज्वालाले कुनैपनि देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसावको खर्चको प्रणालीको पारदर्शीता रहेको बताइन् । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसबाटै हुने उनकाे भनाइ थियाे ।

विकास निर्माणको नाममा हुने ठूलो खर्चमा प्रयोग हुँदै आएको फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाटै सम्भव रहेको उनले बताइन् ।