बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली २०८१ को मस्यौदा तयार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावलीको, २०८१ को मस्यौदा तयार गरेको छ ।

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न राष्ट्र बैंकले विनियमावली तयार पारेको हो ।

मस्यौदामा सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का र आंशिक खाता रोक्का गर्न सकिने उल्लेख गरिएको छ ।

सम्पूर्ण खाता रोक्कामा कुनै पनि खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का, निश्चित खाता रोक्कामा निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्ने गरी गरिएको खाता रोक्का र आंशिक खाता रोक्कामा खातामा रहेको रकममध्ये निश्चित रकममात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावतरुपमा प्रयोग गर्न सक्ने गरी गरिएको खाता
रोक्का सम्झनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ ।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने उल्लेख गरिएको छ । विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृतस्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन दिन सक्ने जनाइएको छ ।

राष्ट्र बैंकले मस्यौदामा १५ दिनभित्र लिखितरुपमा अथवा इमेल मार्फत राय सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।