१६ औं योजनाले उत्पादन र रोजगारीलाई प्रमुख प्राथमिकता दिएको छः उपाध्यक्ष श्रेष्ठ



काठमाडाैँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् ।

बुधवार आयोगमा भएकाे पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रमा उत्पादन र रोजगारी न्युन भएकाले अहिले समस्या देखापरेको भन्दै १६ औं आवधिक योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको दाबी गरे ।

उनले मुलुकको अहिलेसम्मको विकास मोडलले पूर्वाधार र सामाजिक विकासमा राम्रो गरे पनि उत्पादन र रोजगारी सिर्जनामा परिणाममुखी काम नभइएकाले पनि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताए । उपाध्यक्ष श्रेष्ठले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा केन्द्रित हुँदा सामाजिक सूचक खस्कन थालेको उल्लेख गरे ।

उनले त्यस्ता आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने बताएका छन् । पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनले उल्लेख गरे । उनले १६ औं योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम समस्यालाई गहिराइमा पुगेर अध्ययन गरिएको बताए ।

अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरेर १६ औं योजना बनेको उनकाे भनाइ छ । उनले  विगतमा महत्वकांक्षी योजना बनेको भन्दै अहिले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको दाबी गरे । आगामी पाँच वर्षमा मुलुकको औषतमा आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य राखिएको उनले बताए।

१६ औं योजनाको अन्तिम वर्ष २०८५/०८६मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर हुने उनकाे भनाइ छ । आगामी आर्थिक वर्षमा शुरु हुने पूर्वाधार निर्माणको आधारबाट आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आँकलन गरिएको उनले बताए।

उनले १६ औं योजना पहिलाभन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको उल्लेख गरे । मन्त्रालयका सुक्ष्म कार्यक्रम नराखिएका कारण १५ औं योजनाभन्दा १६ औं योजनाको आकार घटेको उनले बताए ।