‘इयू–नेपाल बिजनेस फोरम-२०२४’ काठमाडौंमा सुरु


काठमाडौँ । ‘इयू–नेपाल बिजनेस फोरम-२०२४’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।

दुइ दिनसम्म चल्ने फोरमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले युरोयिन युनियनको सदस्यहरूलाई नेपालमा लगानीका लागि आग्रह गरे ।

उनले व्यवसायका लागि सहज वातावरण बनाउन र निजी लगानी आकर्षित गर्न सरकारले कानुनी परिमार्जन गरिरहेको जानकारी समेत गराए ।

उनले हरित अर्थतन्त्र, प्रविधि र कृषि क्षेत्र नेपालको भावी समृद्धिको केन्द्रबिन्दु हुने उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले इयु–नेपाल सम्बन्धको ५० वर्ष पूरा हुँदा साझा विकास र समृद्धिको नयाँ अध्यायको सुरुवात भएको बताए ।

इयु इन्टरनेसनल पार्टनरसिपका उपमहानिर्देशकले दिगो लगानीका लागि युरोपेली संघले नेपालको प्राथमिकताका क्षेत्रमा लगानीलाई थप सहयोग गर्ने बताए ।

उदघाटनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री दामोदर भण्डारी, अन्तर्राष्ट्रिय साझेदारी, युरोपेली आयोगका उपमहानिर्देशक मिरियम फेरान, युरोपेली संघका आठ सदस्य राष्ट्रका राजदूत र युरोपेली लगानी बैंक (इआइबि) का ग्लोबल निर्देशक लगायतको उपस्थिति थियो ।

फोरममा नवीकरणीय ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उच्चस्तरीय पर्यटन र कृषिलगायतका विभिन्न क्षेत्रहरूमा छलफल हुने छ ।

छलफलका लागि ५० प्यानलिस्टहरूसहित ३०० भन्दा बढी सहभागीता हुने आयोजकको भनाई छ । नेपालमा सन् २०२२ मा आइटी सेवा निर्यातमा ६४ प्रतिशतको वृद्धि र ५० करोड युरोको निर्यात तथा सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटकको आगमन जस्ता उपलब्धिहरू नेपालका लागि इयूका राजदूत एच.ई. भेरोनिक लोरेन्जोको भनाई थियो ।

राजदूत लोरेन्जोले गतवर्ष भएको बिजनेस फोरमबाट नेपालले साना फर्महरूको उल्लेखनीय योगदानसहित करिब ४७ अर्ब रुपैयाँका ४०० परियोजना स्वीकृत गरेको बताइन् ।