नीति तथा कार्यक्रम कार्यान्वयन हुने गरी बजेट आउँछः अर्थमन्त्री पुन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाएका छन् ।

बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे ।

अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए ।

उनले व्यवसायीहरूले सम्पतीको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोवल कमजोर बनाउने नीति नलिने बताए । उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताउँदै सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताए ।

“अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउने गरी बजेट आउने छ । करका नीतिहरू मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने छ । व्यवसायीक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम गर्ने हुदैँन र शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिइने छ”, उनले भने ।

उनले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको र निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको दाबी गरे ।