चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा


काठमाडाैँ । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णविद्युतिकरण पालिका घोषणा गरिएको छ ।

शनिवार गाउँपालिकाको वडा नम्वर १ कालिङमा आयोजित एक कार्यक्रममार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्णविद्युतिकरण घोषणा गरेका हुन्।

गाउँपालिका पूर्णविद्युतिकरण भएसँगै स्थानीयहरु हर्षित भएका छन् । गाउँपालिकालाई पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताए । उनले इच्छाकामनामा पूर्णविद्युतिकरण भनेपनि घरघरमा बिजुली बाल्न केही समय लाग्ने बताए ।

कार्यकारी निर्देशक घिसिङले घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्णविद्युतिकरण घोषणा गरिएको बताए । उनले मिटर वितरण र मिटर जोड्ने कामलाई तिब्रता दिने भन्दै गाउँपालिकाले सहजिकरण गर्न आवश्यक रहेको बताए ।

निर्देशक घिसिङले विपन्न समुदाय बसोवास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न वर्गमा निःशुल्क मिटर बक्स वितरण गरेको बताए ।

इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले धेरै सहयोग गरेको उनको भनाइ छ । उनले बिजुली नपुगेको ठाउँमा बत्ती बाल्ने प्रमुख दायित्व प्राधिकरणको भएको भन्दै एक वर्षभित्र देशका शतप्रशितमा ठाउँमा बिजुली बाल्ने बताए।

इच्छाकामना गाउँपालिकामा करिव ६२ सय घरधुरी छन् । गाउँपालिकामा विद्युतिकरणका लागि १५ करोड ४७ लाख खर्च भएको भएको छ । त्यसमा वडा नम्बर १ मा १ करोड ७५ लाख,वडा नम्बर २ मा ४ करोड ६७ लाख,वडा नम्बर ३ मा ४६ लाख,वडा नम्बर ४ मा १ करोड २४ लाख,वडा नम्बर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्बर ७ मा ५३ लाख बजेट विनियोजन भएको थियो ।

यस योजनाअन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको छ । प्राधिकरणको निर्देशनअनुसार नै चेपाङ समुदायलाई निःशुल्क मिटरबक्स उपलब्ध गराइरहेको छ । पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई निःशुल्क मिटरबक्स समेत वितरण गरिएको थियो ।