काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरे ।
पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानविन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर गरे ।
सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूले सो समितिमा नरहने बताउनु भएको महामन्त्री थापाको जिकिर थियो । उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए ।
महामन्त्री थापाले भने, “अनि सरकारलाई अविश्वास गर्नेहरुले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । द बनाउ । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ । अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अव नेकपा एमालेले गरिदिन्छ । किनभने तपाईहरुको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । नेकपा एमालेले सहकारी नउठाउने, तपाईहरुले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।”
महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानविन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।
प्रतिक्रिया दिनुहोस्