कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउन सरोकारवालाको जोड


काठमाडौँ । कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल सरकार अन्तर्गत रहेको कृषि सुचना तथा प्रशिक्षण केन्द्र र खाद्य तथा कृषि संगठन (एफएओ) को संयुक्त आयोजनामा राष्ट्रिय डिजिटल कृषि रणनीती र कार्ययोजना सम्बन्धी आज भएको कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।

कृषि सुचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाशकुमार सन्जेलले पछिल्लो समय कृषिमा जनशक्ति अभाव हुँदै गएको अवस्थामा प्रविधिमैत्री कृषि बनाउन सके उत्पादन र उत्पादकत्वमा समेत सुधार गर्न सकिने बताए ।

उनले पराम्परागत तरिकाले गर्दै आएको कृषि क्षेत्रलाई प्रविधिमैत्रीमा रूपान्तरण गर्दा आर्थिक रूपमा समेत टेवा हुने तर्क गरेका हुन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरी मध्ये करिब १७ लाख कृषक घरधुरीलाई विद्युतीय प्रणालीमा सुचिकृत गरिएको जानकारी दिदैँ आगामी वर्षमा करिब १८ लाख कृषक घरधुरीलाई सो प्रणालीमा सुचिकृत गर्ने सरकारी लक्ष्य रहेको उनले बताए । उनले भने, “यसले गर्दा कृषि डिजिटलाइजेसनमा टेवा पुर्याउनुका साथै किसान सुचिकरणले कृषि प्रविधिको सदुपयोग गर्ने बाटो खोल्ने छ ।”

उनले कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउनको लागि स्थानीय तहले समेत भूमिका खेल्नुपर्ने बताए । उनले स्थानीय किसानहरूको तथ्याङ्क संकलन गरेर उनीहरूकाे उत्पादनमा वृद्धि गराउन विभिन्न तालिम दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटी अर्यालले देशेको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रको भूमिका रहेको बताउँदै यसमा जनशक्तिदेखि प्रविधिमैत्री बनाउनको लागि मन्त्रालयले विभिन्न याेजना बनाएकाे र केही कार्यन्वयनमा समेत ल्याएकाे दाबी गरिन् ।

उनले भनिन्, “कृषि मन्त्रालयले पनि कृषि क्षेत्रको विकासका लागि विभिन्न कामहरूलाई प्रथामिकता दिदैँ आएको छ जसले गर्दा पछिल्लो दिनमा कृषिलाई आधुनिकिकरण र प्रविधिमैत्री बनाउने प्रकिया बढ्दाे छ ।”

उनले युवा जनशक्ति तयार गरी कृषि प्रणालीलाई प्रविधि बनाएर अगाडि लैजाने बताइन् ।