सञ्चार मन्त्री शर्माको सम्पत्ति: २० लाख रकम सहकारीमा, कीर्तिपुरमा घर


काठमाडौँ । सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माको पनि सम्पत्ति विवरण सार्वजनिक गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शर्माले बुझाएको सम्पत्ति विवरण अनुसार २० लाख रुपैयाँ सहकारीमा रहेको छ ।त्यस्तै उनकाे नाममा राष्ट्रिय बाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार समेत रहेको उल्लेख गरिएको छ ।

कीर्तिपुरमा उनको २.५ तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्को घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ ।

उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।