बजेटले होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्छः अध्यक्ष साह


काठमाडाैँ । होटल संघ नेपालका अध्यक्ष विनायक साहले बजेटमार्फत होटलहरुमा लगाएको लक्जरी कर खारेज गर्नुपर्ने बताएका छन् ।

संघका अध्यक्ष साहले चालु आर्थिक वर्षको बजेटमा होटलहरुमा लक्जरी कर लागू गरेको र त्यसले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश नगएको भन्दै आगामी आर्थिक वर्षको बजेटमा सरकारले खारेज गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष साहले सरकारले पर्यटन प्रवद्र्धनको लागि करको दायरा बढाउने तर नयाँ कर थप गर्न नहुने बताए  । लक्जरी कर लागू भएको कारण अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने अवस्था नभएको उनकाे भनाइ छ । अध्यक्ष साहले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय स्तरका विमानस्थलहरु बनेपनि सञ्चालनमा आउन नसकेको उनले बताए ।

उनले सरकारबाट पर्यटन व्यवसायीहरुले बजेटमा पर्यटन प्रवद्र्धनकारी नीतिको अपेक्षा गरेको उल्लेख गरे । सरकारले पर्यटन प्रवद्र्धनको लागि बनेका पर्यटन पूर्वाधारहरुलाई तत्काल सञ्चालनमा ल्याउन सक्नेगरी नीति ल्याउनुपर्नेमा उनले जोड दिए ।

पर्यटन क्षेत्रमा लगाएको लगानीबाट प्रतिफल आउन नसकेको र बैंकको किस्ता ब्याज बुझाउन नसकेको भन्दै त्यसलाई  सरकारले सहजिकरण गर्नुपर्ने उनले सुझाव दिएका छन् । बजेटले पर्यटक दशक भनेर घोषणा गरेपनि काम गर्न नसकेको उनकाे भनाइ छ ।

उनले सरकारले कृषि, रोजगारी, आइटी र पर्यटनमा समेत दशक घोषणा गर्ने काम मात्रै गरेको भन्दै आगामी बजेट विगतको भन्दा फरक बजेट ल्याउन सुझाव दिएका छन् ।

उनले सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन नीतिहरुलाई पुनः संरचना गर्न आवश्यक रहेको बताए । सरकारको नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धन नीतिहरुलाई पुनः संरचना गर्ने भनिएको भन्दै बजेटमा समावेश गरी कार्यान्वयन गर्न जरुरी रहेको उनकाे भनाइ छ । उनले वि.स. २०३५ सालको पर्यटन ऐनमार्फत चलिरहेको उल्लेख गरे ।

नेपालमा पर्यटक आउनुपर्ने कारण र नीति योजनाहरुलाई समाउन सक्नुपर्ने उनकाे भनाइ छ। उनले पर्यटकले खर्च गर्ने अनुपातमा सेवा सुविधा दिन सक्नुपर्ने बताए । ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने अवस्थामा पुगे पनि १० लाखको हाराहारीमा मात्रै पर्यटक आइरहेको उनकाे भनाइ छ ।