आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार


काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रले वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।

आविष्कार केन्द्रले धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएका केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरूण साहले जानकारी दिए ।

हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारेकाे केन्द्रले मूल्य भने निर्धारण गर्न बाँकी रहेको साहकाे भनाइ छ ।

सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।