चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले वृद्धि हुन्छः अर्थमन्त्री पुन


काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले बिस्तार हुने बताएका छन् ।

आइतवार प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका हुन् ।

अर्थमन्त्री पुनले उत्पादनमुलक उद्योगको गतिविधि सङ्कुचित भएपनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको उल्लेख गरे ।

उनले चालु आर्थिक वर्षमा कुल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान रहेको बताए । उनले प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६ अमेरिकी डलर पुग्ने अनुमान रहेको जानकारी दिए ।

अर्थमन्त्री पुनले प्रदेशगत रूपमा गण्डकी,वागमती,लुम्बीनी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औषत भन्दा माथि रहने अनुमान रहेको बताए । उनले चालु आर्थिक वर्षको फागुणसम्म औषत उपभोक्ता मूल्यवृद्धि ६.८० प्रतिशत रहने बताए ।

उनले राजश्व परिचालनमा क्रमसः सुधार हुँदै गएको भन्दै चालु आर्थिक वर्षको फागुणसम्म संघीय सरकारको राजश्व संकलन ९.७ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको बताए । उनले चालु आर्थिक वर्षको फागुणसम्ममा संघीय खर्च २.९ प्रतिशतले वृद्धि भइ ८ खर्ब १ अर्ब ५८ करोड पुगेको बताए । उनले आर्थिक वर्षको फागुनसम्म कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको बताए ।

उनले कुल ऋणमध्य आन्तरिक ऋण ४९.६ प्रतिशत र वाह्य ऋण ५०.४ प्रतिशतले रहेको उल्लेख गरे । उनले आर्थिक वर्ष २०७९\०८०मा प्रदेश र स्थानीय तहले संघबाट भएको वित्तीय हस्तानतरणमार्फत ३ खर्ब ९७ अर्ब २६ करोड र राजश्व बाँडफाँडबाट १ खर्ब २० अर्ब २६ करोड गरी ५ खर्ब १७ अर्ब ६२ करोड प्राप्त गरेको बताए।