सार्वजनिक संस्थान: २५ नाफामा र १७ नोक्सानीमा



काठमाडौं । हाल अस्तित्वमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा र १५ नोक्सानीमा सञ्चालित रहेको अर्थमन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार सार्वजनिक संस्थान तीन बन्द अवस्थामा थिए ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए। नाफामा सञ्चालन भएका संस्थानबाट आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले रू. १० अर्ब ४५ लाख लाभांश प्राप्त गरेको अर्थमन्त्रालयद्वारा सार्वजनिक सार्वजनिक संस्थानसम्बन्धी प्रतिवेदनमा उल्लेख छ ।

नाफामा सञ्चालन भएका संस्थानबाट अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले रू.६ अर्ब १५ करोड ५१ लाख लाभांश प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० मा प्राप्त लाभांश ६२.५४ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १४.८७ प्रतिशतले वृद्धि भई रू.६ खर्ब ६१ अर्ब १ करोड २९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानको कुल सञ्चालन आय रू. ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख रहेको थियो।

गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १२.२८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात ११.६७ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट रू. १७ अर्ब ३९ करोड ४६ लाख आयकर प्राप्त भएको जनाइएको छ। अघिल्लो आर्थिक वर्षमा सार्वजनिक संस्थानबाट रू. १४ अर्ब ३८ करोड १८ लाख आयकर प्राप्त भएको थियो ।

गत आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ६.९७ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा सङ्कलन भएको सङ्घीय सरकारको कुल आयकरमा सार्वजनिक संस्थानबाट सङ्कलित आयकरको योगदान ५.५९ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षसम्म सार्वजनिक संस्थानको कोषमा व्यवस्था नभएको दायित्व रू. ४७ अर्ब ३६ करोड रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा यस्तो दायित्व रू.५२ अर्ब ८७ करोड २ लाख पुगेको थियो । गत आर्थिक वर्षमा कोषमा व्यवस्था नभएको दायित्व आर्थिक वर्ष २०७८/७९ वर्षको तुलनामा ११.६३ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ ।

सरकारको लगानी लगातार बढ्दै
२०८० असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी रू. ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख र ऋण लगानी रू. २ खर्व ८१ अर्ब ३८ करोड ५८ लाख गरी कुल रू.६ खर्व ६१ अर्ब १० करोड ७४ लाख पुगेको छ ।

२०७९ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको शेयर लगानी रू. ३ खर्ब २८ अर्ब ९२ करोड ७५ लाख र ऋण लगानी रू.२ खर्व ८९ अर्ब २४ करोड ९९ लाख गरी कुल रू.६ खर्व १८ अर्ब १७ करोड ७५ लाख रहेको थियो ।

२०८० असारसम्ममा शेयर तथा ऋण लगानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९४ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्षमा सार्वजनिक संस्थानमा ३२ हजार १ सय ८० कर्मचारी कार्यरत रहेका थिए। आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानमा २९ हजार ७ सय ३६ कर्मचारी कार्यरत थिए ।