फागुनसम्म २८ किलोमिटर नयाँ सडक निर्माण


काठमाडौँ । २०८० फागुनसम्म २८ किलोमिटर नयाँ सडक निर्माण भएको छ ।

आर्थिक सर्वेक्षण २०८१ का अनुसार चालु आर्थिक वर्षको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे र १९० किलोमिटर सडक खण्डास्मितमा स्तरोन्नति हुँदा २८ किलोमिटर नयाँ सडक निर्माण भएको हाे ।

संघीय सरकारबाट निर्माण भएको ३४ हजार २ सय ६७ किलोमिटर सडकमध्ये कालोपत्रे ५३.२ प्रतिशत, खण्डास्मित २२.५ प्रतिशत र कच्ची सडक २४.३ प्रतिशत रहेको छ।

त्यस्तै संघीय सरकारअन्तर्गतका सडक आधा बढी कालोपत्रे हुँदा प्रदेश र स्थानीय तहका २.७ प्रतिशत मात्रै कालोपत्रे भएका छन्।

२०८० फागुनसम्म १८,२४१ किलोमिटर कालोपत्रे, ७,६९७ किलोमिटर खण्डास्मित र ८,३२९ किलोमिटर कच्ची सडक गरी हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४,२६७ किलोमिटर पुगेको छ।

स्थानीय पूर्वाधार अन्तर्गत २०७९ फागुनसम्म ६६ हजार ५७ किलोमिटर सडक विस्तार भएकोमा २०८० फागुनसम्म ६७ हजार २ सय ४६ किलोमिटर सडक विस्तार भएको छ।

स्थानीय सडक पूर्वाधारअन्तर्गत निर्माण भएका सडकमध्ये कालोपत्रे ७.२ प्रतिशत, ग्राभेल २१.२ प्रतिशत र कच्ची सडकको अंश क्रमश ७१.६ प्रतिशत रहेको छ।

प्रदेश र स्थानीय स्तरका सडक सञ्जालमध्ये २०८० फागुनसम्म निर्माण भएको ६७ हजार २ सय ४६ किलोमिटर सडकमध्ये हिमालमा १६ प्रतिशत, पहाडमा ५५ प्रतिशत र तराईमा २९ प्रतिशत सडक निर्माण भएको छ।

स्थानीय पूर्वाधार अन्तर्गत २०८० असारसम्म ६८५ सडकपुल निर्माण भएकोमा २०८० फागुनसम्म ६९२ सडकपुल निर्माण भएका छन् ।