सबैभन्दा बढी वैदेशिक लगानी ऊर्जा क्षेत्रमा


काठमाडौँ । ऊर्जा क्षेत्रमा सबैभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । नेपालमा सुरुदेखि २०८० फागुनसम्ममा ४ खर्ब ७८ करोड ८५ लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ । स्वीकृत भएको वैदेशिक लगानीमध्ये सबैभन्दा बढी लगानी ऊर्जा क्षेत्रमा आएको हो ।

ऊर्जामूलक क्षेत्रमा सबैभन्दा बढी २७.३० प्रतिशत वैदेशिक लगानी भित्रिएको छ । सेवामूलक क्षेत्रमा २७.४ प्रतिशत, पर्यटन क्षेत्रमा २२.४४ प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १५.६० प्रतिशत लगानी रहेको छ ।

ऊर्जामूलक क्षेत्रमा एक खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ भने सेवा क्षेत्रमा एक खर्ब ३० अर्ब ४४ करोड रुपैयाँ रहेको छ । पर्यटन क्षेत्रमा एक खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ भित्रिएको छ भने कृषि तथा वनजन्य क्षेत्रमा ८ अर्ब ४७ करोड रुपैयाँमात्र भित्रिएको छ ।

नेपालमा सबैभन्दा बढी चीनको लगानी स्वीकृत भएको छ । २०८० फागुनसम्म विदेशी लगानी स्वीकृति पाएका परियोजनामध्ये कुल लगानीको आधारमा सबैभन्दा बढी लगानी चीनको रहको हो । चीनको नेपालमा लगानी ४४.४ प्रतिशत रहेको छ भने भारतको २२.२ प्रतिशत रहेको छ ।

लगानी स्वीकृति संख्या पनि चीनको सबैभन्दा बढी रहेको छ । लगानी स्वीकृति संख्याको आधारमा चीनको ३८.७ प्रतिशत र भारतको १३.८ प्रतिशत स्वीकृत भएको हो ।

चीनबाट २ खर्ब १२ अर्ब ४१ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको छ भने भारतबाट एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ भित्रिएको छ । अमेरिकाबाट १७ अर्ब ४७ करोड रुपैयाँमात्र भित्रिएको छ ।