सरकारले लगानी गरेको १०३ संस्थाबाट प्रतिफल प्राप्त भएन


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा सरकारले लगानी गरेको १०३ संस्थाबाट प्रतिफल प्राप्त नगरेको महालेखा परिक्षकले जनाएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपाल सरकारले ११८ स्वदेशी तथा अन्तर्राष्ट्रिय संस्थामा आर्थिक वर्ष २०७९/८० सम्म ३ खर्ब ८६ अर्ब ७ करोड २८ लाख शेयर लगानी गरेको छ ।

सरकारले ११८ संस्थामा लगानी गरेपनि १५ अोटा संस्थाबाटमात्र प्रतिफल प्राप्त गरेकाे जनाएकाे छ । महालेखा परिक्षक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को प्रतिवदेन अनुसार सरकारले १०३ संस्थामा लगानी गरेको २ खर्ब ४९ अर्ब ५३ करोड ७७ लाख शेयरबाट कुनै पनि प्रतिफल नपाएको उल्लेख गरेको छ ।

सेवा क्षेत्रका ९ मध्ये ४, जनउपयोगी क्षेत्रका ५ मध्ये २, बैंक तथा वित्तीय क्षेत्रका ९ मध्ये ८ र नेपाल राष्ट्र बैंकबाटमात्र नगद लाभांश प्राप्त भएको महालेखाले उल्लेख गरेको छ ।

महालेखाले संस्था सञ्चालन व्यवस्थापनमा दक्षता ल्याउनुपर्ने जनाएको छ ।