जापान निर्यात हुन थाल्यो नेपाली घीउ


काठमाडौँ । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रालिले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न सुरूवात गरेका छ ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिजले घ्यू जापान निर्यात गर्न सुरू गरेको हो ।

सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज जापान घ्यू निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको कुरा राख्दै यो कार्यको निरन्तर दिन उद्योगलाई अनुरोध गर्दै मन्त्रालयको सधैं साथ र सहयोग रहने कुरा मन्त्रालयका सचिव लेखनाथ दाहालले बताए ।

उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी उद्योगका संचालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य मनोज कुमार यादबले जानकारी गराए ।

सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँ ५ हजार केजी परम घ्यू सहित चिउरा, चियारंग, मह जापान पठाउनेछ। उद्योगले घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिने कुरा बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने कुरा मुख्य मन्त्री कार्कीले बताए ।

प्रदेश सरकारले यसरी निर्यातमा सहयोग पुर्‍याएकोमा नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले धन्यवाद दिदैँ वार्षिक ३ अर्ब निर्यात हुने कोशी प्रदेशको मौलिक उत्पादन छुर्पी उत्पादनलाई राज्यले प्रोत्साहन गर्न र प्याटर्न राइट लिन पहल गरिदिन पनि मुख्य मन्त्री कार्की र सचिव दाहाललाई आग्रह गरे ।

विगत दुई वर्ष यता दूध तथा दुग्ध पदार्थको उपभोग कम भएर स्टक रहँदा नेपाल डेरी एसोसिएसन बजार खोज्ने क्रममा बंगला देश, श्रीलंका, तिब्बत, भुटान लगायतका ठाउँमा पुगेको थियो। तर लागत बढी र १२ महिना बराबर परिणाम पुर्‍याउन नसक्ने कारण अल्मलिएर बसेको थियो ।

नेपाली बजारमा परम घ्यू प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ । विराटनगरका स्थानीय अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नम्बर १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका थिए । साढे ६ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दुध, दुध र घ्यू गरी ३ बेग्ला बेग्लै प्लान्ट सञ्चालनमा रहेका छन् ।

२०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नै उत्पादन परम घ्यू जापान निर्यात गर्न सफल भएका छन् । उद्योगले उत्पादन गरी रहेको दुग्धजन पदार्थमा कोशी प्रदेश सरकारको अनुदान छ । तर अनुदान रकमले मात्रै उत्पादित दुग्धजन सामग्री जापान निर्यात गर्न सक्ने अवस्था नरहेको उद्योगका सञ्चालक समिति सदस्य मनोजकुमार यादवले बताए ।