पुँजीबजारको विकास विना मुलुकले आर्थिक विकासको गति लिन सक्दैन :महालेखा


काठमाडौं। महालेखा परिक्षकको कार्यालयले पुँजीबजारको विकास विना मुलुकको आर्थिक विकासले गति लिन नसक्ने बताएको छ । महालेखाले सार्वजनिक गरेको ६१ औं प्रतिवेदनमा पुँजीबजारका पूर्वाधारहरुको क्षमता वृद्धि र विकास भएमा लगानीको निम्त पुँजी आपूर्ति वृद्धि भई मुलुकको आर्थिक विकासले गति लिने उल्लेख गरिएको छ ।

कर्पोरेट पेपर र ऋणपत्र बजारको उपस्थिति शुन्य प्राय रहेको अवस्थामा भेन्चर क्यापिटल र प्राइभेट इन्भेष्टमेन्ट जस्ता व्यवसायलाई धितोपत्र बजारमा ल्याउन नसकेको महालेखाले औल्याएको छ ।

उत्पादनमूलक लगायत बहुसंख्यक कम्पनीहरुले अझै धितोपत्र निश्कासन नगरेका, केही म्युचुअल फण्डबाहेक संस्थागत लगानीकर्ताको उपस्थिति न्यून रहेको, धितोपत्र दलालहरुको उपस्थितिले लागत घटाउन नसकिएको, निजी क्षेत्रलाई प्राइभेट इक्वीटी फण्ड र भेञ्चर क्यापिटल सञ्चालनका लागि उत्प्रेरित गर्न नसकिएको समस्या औंल्याइएको छ ।

बजारको क्षेत्रगत विविधिता बढाउनुपर्ने, धितोपत्र व्यवसायीको सेवा अझै बिस्तार गर्नुपर्ने, विदेशी लगानीकर्तालाई पूँजीबजारमा लगानीका लागि सहज व्यवस्था हुनुपर्ने, वस्तु बजारको लागि नियमनकारी व्यवस्थाको सुदुढीकरण गर्न सरकारी स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को पुनःसंरचना गरी पूँजीबजारको दायरा र आकार वृद्धि गराउन जरुरी देखिएको समेत महालेखाले सुझाव दिएको छ ।