राष्ट्रिय गौरवकै आयोजनाको बजेट रकमान्तर; असारमै गरिन्छ अधिकांश रकमान्तर र भुक्तानी



काठमाडौं । सरकारले राष्ट्रिय गौरवकै आयोजनाहरूको बजेट अन्यत्र रकमान्तर गर्न थालेको छ । महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आव २०७९/८० मा सरकारले राष्ट्रिय गौरवकै आयोजनाहरूबाट ५ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरेको हो

सो आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं ३६९ मा राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट अन्य राष्ट्रिय गौरवका आयोजना बाहेक अन्यत्र रकमान्तर गर्न नपाइने उल्लेख भएकोमा उक्त प्रावधान विपरीत ८ राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटबाट रू. ५ अर्ब ७८ करोड ७५ लाख राष्ट्रिय गौरव बाहेकका अन्य ५१ आयोजनाहरूमा रकमान्तर गरिएको हो ।

आव २०७९/८० को कुल बजेट रू.१७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखमा रू.९५ अर्ब २९ करोड ७४ लाख (बजेटको ५.३१ प्रतिशत) रकमान्तर भएको महालेखाले जनाएको छ। सो मध्ये २०८० आषाढ महिनामा रू.२३ अर्ब १० करोड ६५ लाख र आषाढ अन्तिम हप्तामा रू.१३ अर्ब ८१ करोड ९९ लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा रकम थपघट गरेको प्रतिवेदनमा उल्लेख छ ।

शुरु बजेटमा व्यवस्था नभएका विभिन्न १६ कार्यक्रममा रकमान्तर गरी रू. रू.१५ अर्ब ४९ करोड ९० लाख बजेट कायम गरेकोमा रू.८ अर्ब २७ करोड ६० लाख (५३.४० प्रतिशत) खर्च गरेको छ।

असारमै गरिन्छ अधिकांश भुक्तानी
महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ अनुसार आव २०७९/८०रू.१४ खर्ब २१ अर्ब ३२ करोड ७० लाख खर्च भएकोमा २०८० आषाढ महिनामा रू. २ खर्ब ४५ अर्ब ६६ करोड ९१ लाख (१७.२८ प्रतिशत) खर्च भएको छ ।

उक्त खर्चमध्ये आषाढ महिनाको अन्तिम हप्तामा रू.८८ अर्ब ६६ करोड ७७ लाख (अर्थात् कुल खर्चको ६.२४ प्रतिशत खर्च भएको छ।
वित्तीय हस्तान्तरण भएको रकममध्ये यो वर्ष खर्च हुन नसकी प्रदेशमा रू.८२ अर्ब ८ करोड ८९ लाख र स्थानीय तहमा रू.९४ अर्ब ९४ करोड ७३ लाखसमेत रू. १ खर्ब ७७ अर्ब ३ करोड ६२ लाख सञ्चित कोषमा मौज्दात रहेको छ ।

प्रदेशमा पनि रकमान्तरको रोग

आव २०७९/८०मा ७ प्रदेशको सुरु विनियोजित बजेट रू.३ खर्ब ६ अर्ब ४ करोड ३ लाख ५७ हजार रहेकोमा रू. ६४ अर्ब ७२ करोड ६२ लाख ४३ हजार रकमान्तर गरेको पाइयो । सोमध्ये २०८० आषाढ महिनामा मात्र कोशी प्रदेशले रू. २ अर्ब ६१ करोड ५१ लाख ८१ हजार, मधेश प्रदेशले रू. ५३ करोड ६१ लाख ६२ हजार, बागमती प्रदेशले रू.३ अर्ब १६ करोड ९६ लाख ६७ हजार, गण्डकी प्रदेशले रू. २ अर्ब ४ करोड २२ लाख ८५ हजार, लुम्बिनी प्रदेशले रू. २ अर्ब ३६ करोड ९३ लाख, कर्णाली प्रदेशले रू.३२ करोड ९१ लाख ११ हजार र सुदूरपश्चिमले रू. २ अर्ब ५२ करोड १७ लाख २८ हजार रकमान्तर गरेका छन्।

यस्तै ७९ स्थानीय तहले रू.३ अर्ब ३० करोड २४ लाख ८२ हजार रकमान्तन्तर गरेका छन्।