आम नागरिक र उच्च वर्गलाई मूल्याङ्कन नगरी कर निर्धारण


काठमाडौँ । सरकारले मालवस्तुको मूल्याङ्कन नगरी भन्सारका दर निर्धारण गर्ने गरेको छ । आर्थिक वर्ष २०७९/८० को महालेखाको प्रतिवेदनले सरकारले आम नागरीक वा सीमित एवम् उच्च वर्गलाई प्रभाव पार्ने मालवस्तुको मूल्याङ्कन नगरी कर निर्धारण गर्ने गरेको उल्लेख गरेको छ ।

भन्सार दर निर्धारण गर्दा राजस्वको दायरामा हुने विस्तार, दर परिवर्तन गर्दा हुने प्रभाव मूल्याङ्कन गर्दा तथ्यांकको प्रयोग, सिर्जना हुनसक्ने जोखिम, कार्यान्वयनमा आउन सक्ने जटिलता आम नागरीक वा सीमित एवम् उच्च वर्गलाई प्रभाव पार्ने मालवस्तुको मूल्याङ्कन गरी समन्यायिक भन्सारको दर निर्धारण हुनुपर्ने महालेखाले उल्लेख गरेको छ ।

महालेखा परिक्षक कार्यालयको प्रतिवेदन अनुसार केही वर्ष अगाडी १० प्रतिशतका दरले भन्सार महसुल लिएको हिरा आर्थिक वर्ष २०७९/८० मा १ प्रतिशतमात्र भन्सार महसुल लिएको छ । आर्थिक वर्ष २०७९/८० मा १ हजार ४२६ कारोबारबाट २ अर्ब ३२ करोड २२ लाख रुपैयाँको हिरा आयात भएको छ ।

हिरा पत्ता लगाउने प्रविधि त्रिभुवन विमानस्थलमा भन्सार विन्दुमा नभएको र सुनको तुलनामा भन्सार दर न्यून हुँदा यसले समन्यायिकता स्थापित हुन नसकेको महालेखाले उल्लेख गरेको छ ।

आयतकर्ताले सानोरुप र परिमाणको हिरा ल्याउने, बिक्री वा प्रयोग हुँदा कसैले जानकारी नपाउने एवम् बजार अनुगमन नहुँदा यसको मुल्य स्पष्ट नभएको जनाएको छ ।

वैदेशिक मुद्राको सटही सुविधा लिई टी.टी. मार्फत भुक्तानी गर्दा अन्य मालवस्तु पैठारीमा समेत उक्त रकम प्रयोग हुन जाने एवम् राजस्व छली हुने जोखिम देखिएकोले काराधार वृद्धि र करको दिगोपना समेतलाई ध्यान दिई भन्सार महसुल दर निर्धारण गर्नुपर्ने देखिएको महालेखाले उल्लेख गरेको छ ।