बजेटप्रति स्वार्णिम वाग्लेको असन्तुष्टि, १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयनमा शंका


काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा.स्वार्णिम वाग्लेले बजेटप्रति असन्तुष्टि जनाएका छन् ।

मंगलवार संसदमा बजेट प्रस्तुतपछि संसदभवन बाहिर सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै असन्तुष्टि जनाएका हुन् । उनले सरकारले ल्याएको बजेटमा १२ खर्बको राजश्व संकलन र वैदेसिक ऋणको आधारमा १८ खर्ब ६० अर्बको बजेट कार्यान्वयनमा समस्या देखिएको बताए ।

उनले सरकारले बजारको रकम सोसेर आन्तरिक ऋण लिँदा त्यसको असर उद्योगी व्यवसायीलाई पर्दा समस्या आउन सक्ने प्रतिक्रिया दिए । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिने लक्ष्य धेरै भएको टिप्पणी गरे ।

संसद वाग्लेले चालु आवको बजेट पनि समिक्षामार्फत घटाएको र आगामी आवको बजेट पनि समिक्षामार्फत घटाउने सम्भावना देखिएको बताए ।

उनले आन्तरिक ऋण बाहेक सरकारले आगामी आवका लागि ल्याएको बजेट निकै जिम्मेवार खालको रहेको उल्लेख गरे । उनले चालु आवका लागि ल्याएको १७ खर्ब ५१ अर्बको बजेट अलि बढी फुकाएर बनाएको भन्दै वर्तमान सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट जिम्मेवार खालको रहेको उल्लेख गरे ।

उनले सरकारको दायित्व निकै रहेको भन्दै यो बजेट सन्तुलित रहेको सांसद वाग्लेले बताए । उनले सरकारले चाँडै आयोजना बनाएर, दशैँअघि नै खर्च गर्न सकिने भयो भने पुरानो रोग कम हुँदै जाने बताए । उनले अर्थमन्त्रीले पुरानो रोग चिर्न सकेको खण्डमा बजेट कार्यान्वयन गर्न सकिने बताए । उनले सरकारले आगामी आवको बजेटमा १२ खर्ब ६० अर्ब रहेको र यसमा केही बढाउन सकिने अवस्था रहेको बताए ।