जेठ १९ गते विश्व दुध दिवस, सातै प्रदेशमा मनाउने यस्तो छ तयारी


काठमाडौँ । ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ नेपाल डेरी एसोसिएशनले जेठ १९ गते २४ औँ विश्व दुध दिवस मनाउने भएको छ ।

एसोसिएशन आज पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर – १९ दुवागढीको एनएमसी एग्रो फार्ममा प्रभातफेरि सहित मुल समारोहमा गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा विभिन्न कार्यक्रम गरेर दुध दिवस मनाउने बताए ।

एसोसिएशनले दुध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना समेत गरेको जनाएकाे छ। एसोसिएशनले गत जेठ १४ गते काठमाडौँको त्रिरत्न आवसीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दुधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।

भाेलि (जेठ १८) र १९ गते पुश सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहभवनले ललितपुर स्कुलका बालबालिकाहरूलाई दुधको महत्व बारेमा जनचेतनात्मक कार्यक्रमका साथै दुध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम रहेको एसोसिएशनले जनाएको छ ।

त्यस्तै आगामी आर्थिक वर्ष २०८१\८२ को बजेटप्रति डेरि क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उद्योगीहरूले निरुत्साहित भएका छन् । डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले सरकारले ठूलो आकारको बजेट संसदमा पेशा गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने ३ प्रतिशत पनि नछुट्याएको बताए।

सरकारले विद्यालयलाई उपलब्ध गराउने दिवा खाजा अन्तर्गतको कार्यक्रममा दूध तथा दुग्ध पदार्थलाई समावेश गरिदिए डेरी उद्योगी व्यवसायीको समस्या केही हदसम्म समाधान हुने उनको भनाइ छ।

सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसको रूपमा मनाउँदै आइएको छ। नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको छ।