आज विश्व दुध दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै


काठमाडौँ । आज विश्व दूध दिवस ‘दूध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्धन’ भन्ने नाराका साथ मनाइँदैछ ।

२४ औँ विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान, पशु सेवा विभागलगायतले संयुक्त रूपमा झापामा मूल समारोह गर्दैछन् ।

दैनिक गुणस्तरीय दूध पिउन जनचेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न जनचेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने तयारी गरिएको हो ।

त्यस्तै नेपाल डेरी एसोसिएशनले दुध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना समेत गरेको थियो । एसोसिएशनले गत जेठ १४ गते काठमाडौँको त्रिरत्न आवसीय विद्यालय स्वयम्भुमा स्कुलस्तरीय दुधको सेवन सम्बन्धी वक्तृत्वकला प्रतियोगिता एवं दूधपान कार्यक्रम गरेको थियो ।

जेठ १८ र १९ गते पुश सेवा विभाग, राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय हरिहभवनले ललितपुर स्कुलका बालबालिकाहरूलाई दुधको महत्व बारेमा जनचेतनात्मक कार्यक्रमका साथै दुध तथा दुग्ध पदार्थ वितरण कार्यक्रम गरेकाे एसोसिएशनले जनाएको छ । सन् २००१ देखि जुन १ लाई विश्व दूध दिवसको रूपमा मनाउँदै आइएको छ। नेपालले पनि सन् २०११ बाट विश्व दूध दिवस मनाउन थालेको छ।