उत्पादनशील क्षेत्रमा कर्जा लगानी भइरहेको छैन: सासंद महत


काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा लगानी नभइरहेको बताएका छन् ।

उनले आइतबार संसदमा निजी क्षेत्रहरुले बैंकहरु बाट लिएको ऋण बढेपनि उत्पादनशील क्षेत्रमा लगानी नभएका कारण प्रतिफल प्राप्त नभएको बताएका हुन् । उनले २०१८ जुलाईबाट २०२१ जुलाईसम्मको हेर्दा २४ सय २२ अर्बबाट ४१ सय ७२ अर्ब रुपैयाँ कर्जा पुगेको तर त्यसबाट प्रतिफल प्राप्त नभएको बताए ।

मौद्रिक नीति सहज बनाएर पछिल्लो ५ वर्षमा निजी क्षेत्रमा धेरै कर्जा प्रवाह गरेको उनले बताए । त्यसको परिणाम निजी क्षेत्रहरुले उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेनन् प्रतिफल नआइरहेको उनले उल्लेख गरे ।

उनले भने,“हाम्रो स्रोत जहाँ लगाइरहेको छौं ठिक ठाउँमा लगाइरहेको छैनौं । उत्पादनशील क्षेत्रमा लगाइरहेको छैनौं । जसले गर्दा प्रतिफल आइरहेको छैन । र उत्पादन बढिरहेको छैन । ठिक ठाउँमा लगानी नभएपछि रोजगारी पनि सिर्जना हुँदैन । उत्पादनपनि बढ्दैन ।”

सरकारी ऋण ५ वर्षभित्र २०.४ प्रतिशतबाट ४०.९ प्रतिशतको वृद्धि भएको निजी क्षेत्रमा पनि कर्जा प्रवाह भएको तर प्रतिफल प्राप्त नभएको उनले उल्लेख गरे ।

“सरकारले पनि ऋण लिएर हुन्छ के गरेर हुन्छ खर्च गरिरहेको छ । निजी क्षेत्रमा पनि यो ५ वर्षमा व्यापक कर्जा लिएको छ । यो बैंकको मात्र हो सहकारीको पनि हेर्ने हो भने ठुलो मात्रामा कर्जा प्रवाह भएको छ । तर ग्याप कहाँ छ ? कि ठिक ठाउँमा खर्च भइरहेको छैन ?,” उनले भने ।