घाटाका बजेट बढ्दै जानु खतरा हो : पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे


काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पछिल्लो समय बजेट घाटा बढ्दै जानु खतरापूर्ण रहेको बताएका छन् ।

आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाईटीले आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले ट्रेजररी डेफिसिट र बजेट डेफिसिटलगायत बढिरहँदा यसले अर्थतन्त्रमा सहजताभन्दा झन अप्ठ्यारो र खतरा थपिरहेको बताए ।

यस्तै अवस्था असार मसान्तसम्म नगद घाटा पनि हुनसक्ने उनको आँकलन छ । “ यसो हुँदा अब कर्जा तिर्न नै कर्जा लिनुपर्ने अवस्था नआउला भन्न सकिन्न,” उनले भने ।

कतिको बजेट ल्याउनुपर्छ, कति खर्च तोक्नुपर्छ, कतिको अनुमान गर्नुपर्छ भनेर कसैले नहेरेरै बजेट ल्याउने गरेको उनको भनाई छ ।

उनले देश समस्यामै रहेको र देशको अर्थतन्त्रमा मन्दी नै छाएकै बताउँदै पुँजीगत खर्च हुँदैमा सबै कुरा ठिक हुन्छ भन्ने नहुने बताए ।

गाउँगाउँमा फाइभ स्टार विद्यालय त बनायौं तर विद्यार्थी छैनन् । यस्ता कुरालाई बेलैमा ध्यान दिन नसकिए देश खाल्डोमा जाने निश्चित रहेको उनले बताए । सबै अर्थमन्त्रीले अर्काेपटकको बजेट आफुले ल्याउन पाउने, नपाउने कुरालाई वास्तै नगरी बजेट ल्याउनाले एकैपटकको बजेटमा सबैजसो कुराहरु थपिनेगरेको उनले बताए ।

संकटग्रस्त सहकारीको कति रकम समस्यामा छ र कति तिर्नुपर्छ भन्ने कुरा पनि हालसम्म यकिन नभईकनै बजेटमा रकम छुट्याईएको उनले बताए ।

नेपालमा वृद्धहरुलाई मात्रै राख्नेगरी कर्मचारीको अवकास अवधि घटाउनु मनासिव नहुने उनले बताए ।

अर्थ मन्त्रालय पछिल्लो समय धेरै अनुशासनहिन भएको पनि उनले बताए ।

५८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितता भनेर मात्रै वितरण गरिएको उनको आरोप छ । निर्माण व्यवसायीहरु आन्दोलित हुनुपर्ने अवस्था पनि यहि भएर आएको उनले बताए ।

“हामी सीमामा रहेर खर्च नगर्ने हो भने अझै खाल्डोमा जान सकिने निश्चित छ,’ उनले भने, ‘पुँजीगत मात्रै नभएर चालु खर्च पनि उचित र सहि कुरामा खर्च नभएका कारण नेपालको अर्थतन्त्र अझ अप्ठ्यारोमा पर्दै गएको छ ।”

रचनात्मक तरिकाले बजेटको कार्यान्वयन गरियो भने मात्रै केहि उपलब्ध हुने नत्र उहि पुरानै रोग दोहोरिने निश्चित रहेको उनले बताएका छन् ।

विद्युतीय सवारीसाधनमा पनि कर बढाउने र इन्धनमा पनि कर बढाउनुभन्दा सडक प्रयोग गरेवापतको कर लिन सकियो भने मनासिव हुने उनले बताए ।

उनले घरजग्गा, सेयरबजार अनुत्पादक हो भन्दाभन्दै पनि अहिलेको अर्थतन्त्रमा कन्फीडेन्स ल्याउनका लागि यी क्षेत्रलाई खुला छोड्न सके यसले छोटो समयमा अर्थतन्त्रमा पैसाको प्रवाह बढ्ने र अर्काे बर्ष अर्थतन्त्रको वृद्धिमा थप सहयोग पुग्ने बताए । यसका लागि मौद्रिक नीतिले पनि हेर्नुपर्नै उनको भनाई छ ।